Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

May 4, 2016

अलविदा स्कट रेन्स!



Sagar talking with Dr. Scott Rains

Sagar talking with Dr. Scott Rains

२ वर्ष अगाडी मेरो डा. स्कट रेन्स सँग भेट भयो। दारी पालेका र म भन्दा अझ बढी गम्भीर प्रकृतिका अपाङ्गता भएका व्हिलचियरमा हिड्ने ती बुढालाई मैले सोधेको थिए-"तपाई के गर्नुहुन्छ।"

उनले मिठो स्वरमा मलाई भने-"म पर्यटक हुँ।मेरो कामै घुम्ने हो। यी अहिले तिम्रो देश आईपुगे घुम्न लाई।"

मैले उनलाई भेट्नु भन्दा अगाडी व्हिलचियर प्रयोग गर्ने मान्छे पनि घुम्ने पर्यटक हुन्छन् भन्ने सोचेको थिइन। उनको कुरा सुनेर छक्क पर्दै सोधे- "अनि व्हिचचियरमा बसेर कसरी घुम्ने,गार्हो हुदैन।"

उनले हाँस्दै भने-"गार्हो को त कुरा गर्ने हो भने त मित्र- जिन्दगीमा के कुरा पो सजिलो हुन्छ र! तर घुम्दा आउने आनन्दले त्यो गार्हो पाखा लाग्छ।"

मैले फेरी सोधे-"अनि सबै ठाउँमा व्हिलचियर जान्छ त।"

उनले सजिलै भने-"सबै ठाउँ को के कुरा, धेरै ठाउँ मा व्हिलचियर जाँदैन। निकै पल्ट, मैले बोकिनुपर्छ।"

मैलै भने- "अनि त?"

उनले अगाडी भने-"तर नया ठाउँमा व्हिलचियर जाने बाटो बनाउनको लागी त पहिला व्हिलचियरमा हिड्ने मान्छे पनि यहाँ आउन सक्छ भनेर देखाउन पर्यो नि। अनि पो त मान्छेहरूले यो कुरा बुझ्छन।"

उनको कुराले मेरो दिमागमा बत्ति बले जस्तो भयो। म कहिले काहि घुमेको थिइन। मेरो तर्क हुन्थ्यो-"व्हिलचियर त जादैन।"
तर त्यो बेला मैले बुझे, जब कहिले कोहि व्हिलचियरमा घुम्नै निस्किदैन भने, ती ठाउँहरू व्हिलचियर मैत्री बनाउनु पर्छ भनेर कसलाई पो याद हुन्छ र!

त्यो बेला स्कट नेपालमा खुब घुमे। चितवन गए, हात्ती चढे, पोखरा गए ढुङ्गा चढे। अनि हामीसँग गहिरो नाता गाँसेर बिदा भए।

उनी बाटै सिकेर आजकल म पनि खुब घुम्ने भा'को छु। म पनि पोखरा गए, उनले चढे जस्तै ढुङ्गा चढे र उनको सिको गर्दै "अल्ट्रा फ्लाईट" (सानो प्लेन) मा उडेँ। अर्को पल्ट चितवन जान्छु, सबै कुरा मिले- हात्ति पनि चढ्छु।

स्कट आए पछि नै हो- नेपालमा पनि Accessible Tourism को कुरा निस्केको। उनकै बाटो पछ्याउँदै Pankaj जी र हामी मिलेर अहिले नेपाललाई अपाङ्गमैत्री पर्यटन गन्तव्य बनाउन निकै जोडले प्रयास गर्दैछौँ।

स्कट रेन्स अमेरीका फर्किए पछि उनी र मेरो कुरा भैरह्यो। बुढा कहिले क्यानेडा बाट हेल्लो भन्थे भने कहिले ब्राजिलबाट नमस्कार भन्थे।
अलि पछि, उनि बिरामी भए। क्यान्सरले थला पारेछ। तर बेला बेलामा हामी सबैलाई मेरो सबै ठिक छ, तिमीहरूको के छ भनेर ईमेल गर्थे।

तिनै फिरन्ते बुढा बिते रे भन्ने खबर आज बिहान सुन्दा, मलाई कस्तो नराम्रो लाग्यो। मलाई यता घुम्न सिकाए- उनि चाहि संसार घुमिसकेर अर्को लोक को भ्रमण गर्न निस्के। त्यहाँ पो व्हिलचियर जान्छ- जाँदैन?

अलविदा स्कट। तिमी हाम्रो मनमा सधै रहिरहने छौ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email