Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Nov 23, 2015

मैले हार नमानेको त्यो दिन



यो लेख मंसिर २५, २०७० मा कान्तिपुर दैनिकमा छापिएको थियो। यसलाई कान्तिपुरमा पढ्नका लागी यहाँ क्लिक गर्ननुहोस्
--

अमेरिकाबाट नेपाल फर्किने मेरो यात्राको अन्तिम रुट दोहा-काठमाडौं उडान थियो । यो यात्राका लागि मसँग कतार एयरलाइन्सको टिकट थियो । मलाई प्लेनमा यात्रा गर्न सजिलो होस् भनेर प्रायोजक संस्थाले बिजनेस क्लासको टिकट काटिदिएको थियो । त्यसमाथि पनि अगि्रम जानकारी दिँदा आफैलाई सजिलो हुन्छ भनेर मैले आउनुभन्दा एक हप्ताअघि नै कतार एयरवेजको कार्यालयमा फोन गरेँ । उनीहरूले मलाई- तिमी उड्नका लागि योग्य छौ भन्ने डाक्टरी प्रमाण पठाउनु भने । म छक्क परेँ । अरुले पनि गर्नुपर्छ त भनेर सोध्दा तिम्रो जिम्मेवारी लिनलाई हामीलाई त्यो कागज चाहिन्छ, नत्र हामी तिमीलाई सँगै लान सक्दैनौ भने । अमेरिकामा चाहिँ कसैलाई पनि उसको अपाङ्गता बारेको व्यक्तिगत प्रश्न सोध्न कानुनले नै मनाही गरेको रहेछ । त्यही भएर कतार एयरवेजले यस्तो डकुमेन्ट माग्यो भनेर मैले मेरो सुपरभाइजरलाई भन्दा- उनी यस्तो पनि सोध्न पाइन्छ त भनेर छक्क परेकी थिइन् । अब आउने बेलामा किन झमेला गरिरहनु भनेर, मैले बोस्टनमै एउटा क्लिनिकमा गएर स्वास्थ्य परीक्षण गराएर डाक्टरी कागज उनीहरूलाई पठाएको थिएँ र त्यसको केही दिनमा कतार एयरवेजबाट तिम्रो उडान स्वीकृत भयो भनेर इमेल पनि पाएँ ।

कतार एयरवेजको ह्विलचियर प्रयोग गर्ने व्यक्तिहरूप्रतिको यस्तो दृष्टिकोणको कारणले गर्दा मलाई म आउने बेलामा केही न केही झमेला होला भन्ने लागिरहेकै थियो । नभन्दै त्यस्तै भयो पनि । डिसेम्बर ६ को राति म कतार आइपुगेँ । मलाई लिन कतार एयरवेजका मान्छे आए । प्लेनबाट बाहिर आएर हेर्दा त मेरो ह्विलचियर नै छैन । मैले मेरो ह्विलचियर खोइ भनेर सोध्दा त त्यो त लगेजसँगै काठमाडौंमै लिनुहोला भने । अनि मेरो ह्विलचियरको बदलामा मलाई त अस्पतालमा बिरामीहरूलाई एउटा रुमबाट अर्कोमा सार्न प्रयोग गर्ने ट्रान्सपोर्ट ह्विलचियर पो दिए । तर मैले मान्दै मानिन । सुपरभाइजरले पनि जिद्धी गर्‍यो, त्यो ह्विलचियर त हामीलाई हाम्रो कानुनले नै निकाल्न दिँदैन भन्न थाल्यो । मैले पनि बिजनेस क्लासको लाउन्ज थर्काउनेगरी मेरो ह्विलचियर पाउनु मेरो अधिकार हो भनेर कराएँ । होहल्ला भएपछि मान्छेहरू जम्मा भए । अनि कतार एयरवेजको अलि ठूलो ओहदाको मान्छे आएर नम्र भएर, तपाईलाई हामी यताउता जान सहयोग गर्छौं नि त भन्यो । मैले मलाई सहयोग गर्नु पर्दैन, मेरो ह्विलचियर देऊ भने, किनभने दोहामा मेरो ७ घन्टा ट्रान्जिट थियो । त्यस्तो बेतालको अप्ठेरो ह्विलचियरमा म सात घन्टा कसरी काट्न सक्थँे । अनि फेरि त्यो ह्विलचियरमा बस्यो भने त मलाई बाथरुम जान 'नि सहयोग चाहिने भो । मैले यो कुरा ती अफिसरलाई सुनाएँ ।

बाथरुम जान सहयोगको कुरा के गरेको थिएँ, अघि नै देखि मसँग निहुँ खोजिरहने सुपरभाइजर चम्किँदै बोले- 'बाथरुम जान पुरै सहयोग चाहिन्छ भने त हामी तपाईलाई उडाउन बाध्य छैनौं ।' आज हामी समाज जाति, धर्म, लिङ्ग तथा अपाङ्गताको आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि चौतर्फी रूपमा लडिरहेको बेला कतार एयरवेजको एकजना जिम्मेवार कर्मचारीले त्यसो भन्दा मलाई एकदम रिस उठ्यो । उसलाई सिधा हेरेर- 'ल आज मलाई नलगेर देखाऊ !' भनेँ अनि उसको म्यानेजरलाई- 'मेरो ह्विलचियर एक घन्टा भित्रमा मसँग आएन भने म यो एयरपोर्टमा खलबली मच्चाइदिन्छु' भनेँ । मलाई विश्वास थियो, म कुनै गल्ती काम गर्दै छैन भनेर, त्यसकारण पछि हटिन !

भर्खरै अमेरिकी सरकारको कार्यक्रममा भाग लिएर आएकोले गर्दा- अमेरिकी सरकारको उच्च तहका कर्मचारीसँग 'नि चिनजान भएको थियो । अनि तिनै मध्येका एकजना अमेरिकाको स्रेकेटरी अफ द स्टेट जोन केरीका मुख्य सल्लाहकार-तोमस टिलिमेनलाई इमेल लेख्दै आफू कतारमा अलपत्र पर्नलागेको र आप\mनो ह्विलचियर माग्दासमेत नदिएको बताएँ । त्यसको ११ मिनेटमा अमेरिकी यातायात मन्त्रालय र अमेरिकी स्टेट डिपार्टमेन्टको इमर्जेन्सी शाखाबाट इमेल आयो । कतारमा मेरो उद्धार गर्न अमेरिकाका बिभिन्न सरकारी निकायहरू सक्रिए भए । यसरी सबैको साथ पाएपछि म झन् हौसिएँ र सुपरभाइजर र म्यानेजरलाई दबाब दिन थालेँ । अरु सबै बिजनेस क्लासका यात्रुले हो-मा-हो मिलाए । त्यसको झन्डै आधा घन्टापछि मैले मेरो ह्विलचियर पाएँ । केही गरे पनि ह्विलचियर त दिनै मिल्दैन भन्ने ती सुपरभाइजरतिर हेरेर- दिन त मिल्ने रहेछ नि, किन बेकारमा दुःख देको भनेर सोधेँ । उनले केही भनेनन् ।

उता वासिङटनमा मलाई उद्धार गर्न हलचल भैसकेछ । उनीहरूले कतार एम्बेसीलाई जानकारी गराएर, अमेरिकास्थित कतार एयरलाइन्सलाई अपाङ्गता भएका यात्रुको अधिकारको प्रतिलिपि पठाएर- मेरो बारेमा प्रश्न गरेछन् । मैले ह्विलचियर पाइसकेको थिएँ, तर उनीहरूलाई थाहा भैसकेको थिएन । त्यसकारण मलाई कतार एयरवेजको अमेरिकी अफिसबाट कसैले इमेल गरेर भने, 'हामी तपाइर्ंको केस हेर्दैछौं, केही बेरमा जानकारी दिन्छौं ।' मैले उनलाई- 'मैले मेरो ह्विलचियर पाइसकेँ । अब तपाईंले केही हेर्नु पर्दैन । जति जे हेर्नुपर्ने हो, जे भन्नुपर्ने हो, तपाईंको सी.ई.ओ.ले भन्नेछन्' भनेर जवाफ पठाइदिएँ । त्यसको साथसाथै मैले अमेरिकी सरकारका सबै एजेन्सीहरूलाई पनि- 'मैले मेरो ह्विलचियर पाएँ । आजलाई यो समस्या टर्‍यो । मैले त आप\mनो अधिकारको लागि बोल्न सकेंँ र हार्नुपरेन । तर सधैैं-सधैं यसरी नै अपाङ्गता भएका मान्छेहरूलाई हेलित हुनबाट जोगाउन केही त गर्नैपर्छ' भनेर अनुरोध गरेंँ । उहाँहरू सबैले अब आउने हप्तामा यो कुरा कतार एयरवेजका कार्यकारी तथा कतारका उच्च अधिकृतहरूसमक्ष पुर्‍याउने हुनुभा' छ । म आफू पनि कतार एयरवेजका मुख्य हाकिमलाई पत्र लेखेर यी सबै कुराको जानकारी दिनेछु ।

अमेरिकाको सरकार र सायद कतारी राजदूतावासबाट पनि दबाब आएर होला- यो सबै घटना भएको केही समयपछि कतार एयरवेजका ड्युटी म्यानेजरले मसँग आएर माफी मागे । अब आइन्दा यस्तो हुनदिन्न भनेर पुरै मसँग प्रतिबद्धता जनाए । मैले उनलाई भने- 'यो मेरोमात्रै र आजको मात्रै कुरा हैन । तपाईंका सबै कर्मचारी- म्यानेजरदेखि लेबरसम्मलाई अपाङ्गता भएका मान्छेहरू को हुन्, उनीहरूको क्षमता कति हुन्छ र उनीहरूसँग व्यवहार गर्ने भनेर तालिम दिनु जरुरी छ ।' उनले नम्र हुँदै भने- 'त्यस बारेमा हेड-अफिसमा कुरा राख्छु । मलाई आशा छ- कतार एयरवेजजस्तो प्रमुख वायुसेवा कम्पनीले आप\mना केही विभेदपूर्ण नियमहरू र असमान व्यवहारहरूलाई चाँडै नै बदल्नेछ ।

नेल्सन मन्डेलाले सधैं हामीलाई हाम्रो अधिकारका लागि लड्न सिकाए । उनले संसार त्याग गरेको त्यो दिनमा मैले मेरो अधिकारका लागि लडेर सत्यबाट पछाडि नहटी उनलाई भावपूर्ण श्रद्धाञ्जली दिनसकेँ । मलाई म मेरो अधिकारका लागि लड्नसकेको र अन्तिमसम्मै अडिग रहेर मेरो ह्विलचियर पाउनसकेको यो कुरा सुनाउन पाउँदा आज गर्व लागेको छ ।

प्रकाशित: मंसिर २५, २०७०


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email