Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 14, 2015

चिया को हैन, मनको कथा!



Picture of Glass filled with Tea. Picture Source: http://whatscookingamerica.net

Picture of Glass filled with Tea. Picture Source: http://whatscookingamerica.net

दुई बर्ष भएछ। एउटा घटना मेरो सम्झनामा सधै ताजा भएर बसिरहन्छ। जब जब चिया पिउँछु, तब झन् प्रस्ट भएर आईपुग्छ- मानसपटलमा।
म सानै देखी चियाको सोखिन हुँ। मलाई चिन्नेले सजिलै भन्नुहुन्छ- म दुध हालेको चिया कति मनपराउँछु भनेर। हिन्दि फिल्म हेर्दै हुर्केको मैले “अदरक वाली चाय” भनेको सुनेर चियामा अदुवा हालेर पिउन सिके- त्यसको स्वाद झन् गज्जव लाग्यो। चिया खाँदा सुरुप्प आवाज निकालेर पिउनु – मेरो एउटा ट्रेडमार्क हो। तर आजको यो कथा चियाको हैन- मनको हो।
दुई बर्ष अगाडी, जेठको महिना थियो। मेरो भर्खरै अमेरीका जाने भिसा लाग्या थियो। साउनमा अमेरीका जाने म, असारको १५ देखी कामबाट बिदा लिनेवाला थिए। त्यतिबेला अफिसका साथीहरू सँग कुरा पनि मेरो अमेरीका बसाईकै बारेमा हुन्थ्यो।
यस्तैमा एकदिन म आफ्नै डेस्कमा चिया पिउदै थिएँ। मैले चियाको प्रत्यक घुट्की लिँदा-सरुप्प आवाज आउँथ्यो। त्यहि कोठामा एकजना अर्का स्टाफ नि हुनुहुन्थ्यो। वहाँले भन्नुभयो- सागर जी, माईन्ड नगर्नुहोला, एउटा कुरा भन्छु। तपाई अमेरीका जाँदै हुनुहुन्छ यार, यसरी चिया पिउँदा आवाज निकाल्दै पिउदा- त्यहाँ तपाईलाई “पाखे” भन्छन्? टेबल म्यानर्स अलि सिकेर जानु है, नत्र बेज्जत होला!”
वहाँको कुरा सुनेर, म त छक्क परेँ। ओहो- मलाई कस्तो पिर पर्यो। यत्रो समय त चालै नपाई “पाखे” भईएछ भनेर मलाई कस्तो नराम्रो लाग्यो। चिया पिउँदा सुरुप्प पार्नु-त्यसतो नराम्रो हो जस्तो त मलाई लाग्या थिएन, तर आधा भन्दा बेसी जिन्दगी गाउँमा बिताएका मान्छे- के पो थाहा हुनु।
सहकर्मी साथिले त्यसो भनिसकेपछिका केहि दिन- मेरो मनमा ठुलो द्वन्द चल्यो। एकातर्फ अब “पाखे” हुनुहुदैन भन्ने अठोट आयो भने अर्को तर्फ अरूलाई केहि बिगार नगर्दा के को यस्तो दोष भनेजस्तो लाग्यो। केहि दिन सम्म चिया पिउँदा- बिस्तारै आवाज नलिकाली पिउने प्रयास पनि गरे। अहँ सकिएन चिया त चिया जस्तै नलाग्ने। पछि सोचे- आफु जे छु छु, अरुले “पाखे” भन्दा त्यहि भईहाल्ने हो र? अगाडी जे होला- देखा जाएगा!
म आफ्नो नियमित समयमा अमेरीका पुगेँ। त्यहाँ एउटा युनिभर्सिटिको डिपार्टमेन्टमा काम गर्न पनि थाले। अमेरीकामा पुगेका सुरूको केहि हप्ता मैले चिया पिईन। त्यहाँ हामीले खाने जस्तो चिया नै नहुने। कहाँ हाम्रो भकभक उम्लेको दुधमा चियारङ्ग हालेर बनाउने चिया- कहाँ उनीहरूको तातो पानीमा टिब्याग डुबाएर खानुपर्ने चिया। मलाई स्वादै मन परेन।
अलि समय त्यहाँ बसेपछि त्यहि बस्दै आएका नेपाली साथीहरूको सहयोगमा एउटा स्टोर फेला परेँ- जहाँ मैले मसला टि किने। दुध पनि गिलेनमा पाईहाल्थ्यो- त्यो नि किने। र सबैभन्दा गज्जबको कुरा त अदुवाको पेस्ट नै पनि पाईने रहेछ- त्यो नकिन्ने कुरै भएन। मैले मेरो चिया सबै सामान लगेर अफिसको फ्रिजमा राखे र आफ्नो सामानमा आफ्नो नाम लेखे- त्यो त्यहाँ चलन थियो। म पनि अब नेपाली स्वादको चिया पिउने भएँ- त्यो नै आफै पकाएर।
चिया पकाउन नि सजिलो थियो। कपमा दुध हालेर ओभनमा राख्यो- एकछिनमा उम्लेपछि- अदुवाको पेस्ट, मसला टिब्याग र चिनी हाल्यो। कस्तो मिठो बन्थ्यो भने चिया!
चिया त बन्यो त पिउने बेलामा पो फेरी पुरानो कुरा याद आयो। म काम गर्ने कमन रुम थियो- त्यहाँ म सहित ५ जना मान्छेहरूको डेस्क थियो। अब यतिका मान्छेको अगाडी चिया कसरी पिउने। आवाज ननिकाली पिउँदा-सवादै नआउने। जे सुकै होस् भनेर- आफ्नै पाराले चिया पिउन थाले।
मैले यसरी चिया पिउन थालेपछि अर्को दिननै मेरो सहकर्मीहरूले छक्क मान्दै मलाई सोधे। मैले उनीहरूलाई चियाको बारेमा, त्यसमा घोलिएको अदुवाको बारेमा बताए। उनीहरू यो पनि भने कि- यसरी बनेको चिया, सुरुप्प पारेर पिउँदा, त्यसको स्वाद मतिष्कमा पुग्छ अनि आनन्द हुन्छ। मैले उनीहरूलाई अलि बढि नै गऐ दिएको थिएँ- तर त्यो मेरो लागी सत्य पनि थियो। सुरुप्प पारेर चिया पिउँदा- मलाई साँच्चै आनन्द लाग्थ्यो।
मैले यसो भनिसकेपछि मेरा विदेशी साथीहरू एकदमै उत्सुक भए र मलाई- हामी पनि चाख्न पाउँछौँ कि भनेर सोधे। म औधी खुशी भएर उनीहरूको लागी पनि आफैले चिया बनाएर ल्याएँ। अनि सबैलाई मैले जस्तै सुरुप्प पारेर चिया पिउन सिकाएँ। उनीहरूले त्यसै गरे। उनीहरूलाई त्यो चिया असाध्यै मिठो लागेछ- आँखा चिम्लेर सुरुप्प पार्दै चिया सके। हामी सबैले त्यसरी चिया पिउँदा- सबैको आवाज मिलेर चिया पिएको आवाज निकै ठुलो पो सुनियो। हामी सबै चिया पिई सकेर मजाले हाँस्यौ पनि। त्यो दिन - उनीहरू सबैले मलाई धन्यवाद भने र कहिले काहि यसरी सँगै सुरुप्प पारेर चिया पिउँ है पनि भने।
त्यस दिन पछाडी हामीले त्यसरी धेरै पल्ट चिया पियौँ। उनीहरूले कहिले काहि दुध किनेर ल्याउँथे र हामी त्यसमा हाम्रो कोठा नम्बर लेखेर फ्रिजमा राख्थ्यौ। त्यो हाम्रो सामुहिक चियाको लागी थियो। चिया पिउँदा चाहि हाम्रो स्टाईल त्यहि हुन्थ्यो- सुरुप्प।
अमेरीका जाने बेलामा टेबल म्यानर् नभएर डराएको म, त्यहाँबाट फर्कदा बिदेशी साथीहरूलाई नयाँ म्यानर सिकाएर आएँ। त्यो बेला देखी मलाई अरुले भनेको कुराले केहि असर गर्दैन। आफ्नो मनलाई सोध्छु- के मैले गरेको यो कुरा ठिक छ त? यसले अरूलाई बिगार त गरेको छैन नि। यदि मेरो मनले यी कुराहरूको सकारात्मक उत्तर दियो भने- बस् मलाई पुग्यो।
भन्नेले त के के भन्छन् भन्छन्। तर के उनीहरूले पाखे भन्दैमा- म पाखे भएँ त? मुख्य कुरा मेरो मन खुशी हुनुपर्यो- त्यो भन्दा बाहेक त महाकबिले भनेजस्तै- “साथी, तिम्रो विश्व मलाई बाल!”
मनको कथा यहि सकियो।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email