Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Mar 3, 2016

देखावटि हैन साँच्चिकै म



म कक्षा ८ तिर पढ्दा एकदमै देखाउनु पर्ने खालको मान्छे थिए- शो अफ गर्नुपर्ने खालको भन्छन् नि त्यसतै। बच्चा बेलाको कच्चा दिमाग भएर पनि होला- मलाई खाली महंगो चिज आफ्नो भइदिए वा ठुलो नाम चलेको मान्छेलाई आफुले पनि चिन्ने भैदिए मलाई पनि मान्छेले एकदमै महान् मान्छन् जस्तो लाग्थ्यो।

त्यो बेला मेरो बुवाले भर्खर मोबाईल फोन किन्नुभएको थियो। त्यो जमाना मोबाईल फोन भनेको एकदमै ठुलो चिज थियो, कमैले मात्रै बोक्थे वा अझ भनौँ बोक्न सक्थे। मेरो बुवाको मोबाईलको सेट पनि एकदमै राम्रो थियो। सानो चिटिक्क परेको र टाउको मा एरियलको टुप्पो भएको सामसुङ्गको त्यो ब्लाक एण्ड वाईट मोबाईल हात पर्दा म गमक्क पर्थे।

एकदिन मलाई त्यो मोबाईल गरेर स्कुलमा सरहरूलाई देखाउन पाए त कस्तो ईज्जत हुन्थ्यो होला जस्तो लाग्यो। मलाई हिसाब पढाउने सर प्रति एकदमै ईज्जत लाग्थ्यो। वहाँ एकदमै विद्वान मान्छे जस्तो कुरा गर्नुहुन्थ्यो र हुनुहुन्थ्यो पनि त्यसतै। मलाई लाग्यो- ती सरको अगाडी चट्ट मोबाईल निकालेर बोल्न पाए र ओहो- सरले पनि मलाई कस्तो ठुलो मान्छे जस्तो सोच्नुहुन्छ होला।

त्यसपछि मैले यो कुरा मेरो दाई (ठुलो बुवाको छोरा)लाई भने। उनलाई मैले म सर सँग बसेको बेला तिमी अलि माथिको पिसिओमा गएर बुवाको नम्बरमा फोन गर अनि म चाहि मोबाईल झिकेर बोलेको जस्तो गर्छु भने। उनले पनि माने। भाई खुशी हुन्छ भनेर होला सायद।
शनिबारको दिन, वुवा घरै बस्नुभएको थियो। अनि म चाहि सर सँग हिसाब सिक्न जान्छु भनेर मोबाईल पनि सुटुक्क गोजीमा हालेर, दाई सँग स्कुल गए। सर शनिवार पनि त्यतै हुने गर्नुहुन्थ्यो। मलाई सर सँग छोडेर- दाई पिसिओ तिर लागे। हाम्रो सहमति थियो- दाईले फोन गर्ने अनि दुई घण्टिमा काट्ने अनि मात्रै मैले फोन उठाए जस्तो गर्ने। फोन नै गर्ने पैसा त कहाँ पो होस्, हामी जस्ता फुच्चे सँग।

म सरसँग यतिकै कुरा गरिरहेको थिए- मोबाईलको घण्टि बज्यो। त्यो ल्याण्डलाईनको घन्टी जस्तो होर, गीतको धुन जस्तो। मैले फोन हातमा झिके र हेरे। सरले पनि हेर्नुभयो। म गजकक परे। र घन्टी बज्न छोड्ने बित्तिकै फोन उठाए जस्तो गरेर- केहि बेर यतिकै बोले। मेरो मामाहरू काठमाडौँमा हुनुहुन्थ्यो- त्यहिबाट आएको फोन जस्तो गरी बोले।

म बोल्दै छु – सरले त मलाई र मेरो मोबाईललाई हेर्नै छोडेर हिसाब गर्न पो लाग्नुभयो। मैले एकछिनमा अघि नै काटिएको त्यो फोन राखे जस्तो गरे। सरले त मोबाईलको बारेमा एक बचन पनि सोधेनन्। खुरूखुरू हिसाब गर्न पो थाले। म एकदमै दुखी भएर घर फर्किए। सर सँग रिस उठ्यो। विद्वान हैनन् जस्तो लाग्यो। भए त- त्यत्रो मोबाईलको महत्व थाहा पाउनुपर्ने नि!

मन दुखे पनि पढ्न जान त परिहाल्यो। सर सँग हिसाब सिक्ने क्रम चलिरह्यो। यस्तैमा एकदिन सरले भन्नुभयो-"तिमी त किन दुखी देखिन्छौ।" मैले भने-"हैन सर, त्यसतो केहि।"

सरले भन्नुभयो-"किन हैन। त्यसतो हाँस्ने मान्छे। खुसी हुने मान्छे। हिसाब मिलाउँदा- तिमी खुसी भएर मतिर हेर्छौ नि, मलाई बहुत आनन्द लाग्छ। तर अहिले केहि दिन देखी विचार गर्दै छु। तिमी बडो उदास छौ।"

सरले त्यसो भन्दा पो म झल्यास्स भएँ। सरले मलाई कस्तो याद गर्दा रहेछन्। मेरो मोबाईललाई, मेरो देखावटि पनलाई हैन- मलाई। नत्र तेत्रो महंगो मोबाईल झिकेर शान देखाउँदै बोल्दा- एक शब्द नभन्ने सरले, म हाँसेको, बोलेको, हिसाब मिलाको सबै ख्याल राखेका रैछन्।

त्यो बेला मलाई लाग्यो- देखावटि वस्तुहरूको लागी त सबैले देखावटि माया नै गर्ने रहेछन्। हामीलाई खासमा माया गर्ने मान्छेले - हामी जस्तो छौँ, त्यसैको लागी नै माया गर्ने रहेछ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email