Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Nov 19, 2016

हिसाब माईनस - बल्झियो साईनस!



१ कक्षाको मध्यतिर एकदिन एउटा सुखद खबर आयो। दुई-तिन महिना अगाडी हाम्रो क्लासका प्राय सबैजसोले हुल बाँधेर भरेको भारतीय दुतावासको माहात्मा गान्धी छात्रवृति पाउने सुचीमा मेरो पनि नाम आएछ। खासमा मेरो त्यसतो छात्रवृति चाहिहाल्ने स्थिति थिएन, कलेजले पहिलानै मलाई पुर्णरूपमा शुल्क मिनाही गरिदिइसकेको थियो भने अरू साधारण खर्च पनि थोर-बहुत पुगेकै थियो। तर पनि पैसाले कसलाई-कहिले पो पुग्छ र! यसै एउटा फारम भरेको भरमा दुई बर्षसम्म महिनाको पाँच सय रुपैया पाउने भएपछि, म दंग भएँ।

पत्रिकामा नाम आएको महिना दिन जति पछाडी कलेजमा फोन आयो र हामीलाई भोलिपल्ट एम्बेसीमा बोलाएको खबर पाईयो। अब पैसा आउने भो भनेर मन फेरी फुरुङ्ग भयो। हामी भन्दा १ ब्याच सिनियर एकजना दाईले एकचोटीमा ६ हजार दिन्छन् भनेर सुनाए। ओहो- छ हजार। त्यति बेला गोजीमा सब भन्दा बढि हुने भनेको सय रुपैया हुन्थ्यो भने कोठामा ब्याकअफ खर्च हजार रुपैया सम्म।

यसरी एक्कासी त्यत्रो पैसा आउने, त्यो पनि परिवारलाई हिसाब बुझाउनु नपर्ने भएपछि, त्यो रात मैले बाहिर नै “डिनर” गर्ने प्लान बनाएँ। म सँग त्यो बेला मलाई सहयोग गर्न भनेर एकजना “काका” बस्नुहुन्थ्यो। साँझ कलेजबाट फर्केर मैले काकालाई भने-“आज खाना नपकाउनु काका, बाहिर नै खाउँला।“ घरखर्च चलाउन राखेको पैसा बाट हजारको नोट बोकेर, अलि साँझ परेपछि काका र म चोक तिर लाग्यौँ।

त्यो बेलाभर्खरै चोकमा एउटा नयाँ फेन्सी टाईपको रेस्टुरेन्ट खुलेको थियो। तर त्यस दिन सम्म पनि त्यो रेस्टुरेन्टमा जाने मौका मिलेको थिएन। अझ भन्दा- पैसा मिलेको थिएन। त्यहि भएर त्यो दिन त्यहिँ गईयो। काका र म भएर नाम सुनेका- नसुनेका, मिठा-नमिठा अनेक परिकार खाएर सात सय तीस (७३०) रुपैया तिरीयो। मनको एउटा कुनामा चिसो पस्यो। यत्रो पैसाको नखानु पर्थ्यो कि जस्तो लाग्यो। तर भोलि त पैसा आईहाल्छ नि भनेर मनलाई सम्झाएँ।

भोलि पल्ट दिउँसो कलेजबसमा नै एम्बेसी गईयो। अरू पनि धेरै जना थिए। मजस्तै फुरूक्क थिए। तर त्यस दिन, हामी सबैलाई एम्बेसीले लोप्पा खुवाईदियो। त्यो दिन त काजगपत्र बुझ्न कि खै के गर्न पो बोलाएको रहेछ। अहिले ठयाक्कै सम्झना आएन तर पैसा दिन चाहि हैन। सानो अँध्यारो अनुहार लिएर हामी सबै कलेज फर्कियौँ।

त्यो दिन दुख त सबैलाई लाग्यो होला तर मेरो जस्तो बिजोग अरूको भएन। कोठा खर्चबाट लगेर सबै पैसा होटलमा खाएर सकियो, अब कोठामा सुख्खा लाग्यो। घरतिर माग्ने कुरा भएन, अगाडीको खर्चको हिसाब देखाउने सक्ने स्थिति नै थिएन। काका सँग अलि अलि पैसा रहेछ, लुकाएर बचत गरेको, त्यहि सापट मागेँ। कोठामा हुने दालभात तरकारीको भन्दा एक रुपिया पनि थप खर्च गर्न छोडियो। यसरी २ महिना सम्म बोरिङ्ग जिन्दगी बिताए पछि बल्ल बल्ल एम्बेसीले पैसा दियो।

पहिलानै लोप्पा खाएर होला- खासै खूशी पनि लागेन। काकाको रिन तिरेर आफुलाई पहिलाको स्थितिमा ल्याउँदा नल्याउँदै जस्तो आ’को पैसा त्यस्तै सकियो।

जापानमा एउटा भनाई छ रे- “तिमी सँग कुनै दिन पैसा भयो भने, त्यो दिन सम्झ जुन दिन तिमीसँग एक सुका पनि थिएन। त्यसपछि भएको पैसा के गर्ने तिमी आफै बुझ्नेछौ।“ तर मैले उल्टो गरेँ। मसँग सुका नभएको दिन मैले भविष्यमा आउने पैसाको कल्पना गरेर, माईनसमा झरेँ।

आज पनि त्यो माईनसको हिसाब गर्दा; मलाई साईनस हुन्छ!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email