Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 12, 2016

कति कुरा नभनेर नै मिठा हुन्छन्



आज बिहान अफिस जाने बेलामा बेस्मारी पानी पर्न थाल्यो त्यसकारण स्कुटरमा अफिस जान सम्भव भएन। घर नजिकै बस्ने एकजना दाईले ट्याक्सी चलाउथे, उनलाई बोलाएर ट्याक्सीमा अफिस तिर लागे।

अनामनगर चोकमा पुग्दा, एउटा अर्को ट्याक्सीको अगाडीको एउटा चक्का सडकको कुनामा रहेको खाल्डोमा छिरेर अड्केर बसेको रहेछ। त्यो ट्याक्सीका चालक अगाडीबाट ट्याक्सीलाई पछाडी ढकेल्न खोजीरहेका थिए तर ट्याक्सी हल्लिएको पनि थिएन। बिचरा, ती चालक दाई पानीले भिजेर निथुक्र भएका थिए।

म बसेको ट्याक्सीका चालकले त्यो गाडी भन्दा ठिक अगाडी लगेर गाडी रोके र म तिर हेरे भने-"सर, ती साथीलाई सहयोग गर्नुपर्यो, तपाईलाई ढिलो हुन्छ कि?"

मैले सजिलै भने-"मलाई त केही ढिलो हुदैन दाई, तर तपाई भिज्नुहोला नि त फेरी!"

उनी "केही हुदैन" भन्दै निस्के। मैले अगाडीको ढोका हल्का खोलेर पछाडी हेरे। मसँग गएका ट्याक्सी चालक दाईले पहिला हात दिएर अरू दुईटा ट्याक्सी रोके। अनि चारजना चालक मिलेर, त्यो फसेको ट्याक्सीलाई धकेलेर निकाले।

५ मिनेट जतिमा मेरा ट्याक्सी चालक फर्किए। अनि खुशी भएर म तिर हेरेर भने-"साथी त ज्याक-स्क्रु (लिभर) लगाएर निकाल्न खोज्दै रहेछ, आधी घण्टा भन्दा धेरै लाग्थ्यो होला बिचरा। भिजेरै मर्ने थियो।"

मैले पनि खुशी हुदै सोधे-"धन्यवाद भने त दाई तिनले?"

उनले भने-"साथिको त बोली नै फुटेन। छुट्ने बेला हात हल्लायो त्यति हो।" यति भनेर उनी हाँसे। अनि हामी हाम्रो बाटो लाग्यौँ।

केहि समय अगाडी एकजना बोल्न र सुन्न नसक्ने मेरा एकजना साथीलाई खोटाङ्ग जानेबेलामा एअरलाईन्सले प्लेनको भाँडामा छुट दिन मानेनछ। अपाङ्गता भएकालाई त्यस्तो छुट छ भन्ने जान्दा जान्दै पनि एअरलाईन्सले त्यो व्हिलचियरमा हिड्ने र दृष्टिबिहिनहरूको लागी मात्र हो की भन्ने बुझेछ। मेरा साथि आफु बोल्न नसक्ने हुनाले तिनीहरूलाई आफ्नो कुरा बुझाउन सकेनछन्। अनि मलाई भेटेर- कागजमा लेखेर सुनाए। मेलै त्यो एअरलाईन्स कम्पनीलाई फोन गरेर सबै कुरा बुझाईदिए र मेरा साथीले झन्डै ४००० छुट पाए। उनी खुशी भए तर जाने बेलामा मलाई धन्यवाद भनेनन्। उनी त्यो भन्नै सक्दैथे। त्यसको सट्टा दुवै हातलाई आफ्नो छातीको छेउमा लगे र हाँस्दै दुईपटक हल्लाए - उनको भाषाको धन्यवाद भने।

आजको ट्याक्सीमा अफिस जाँदाको घटनाले मलाई मेरो त्यो साथीको घटना याद दिलायो। र सँगै एउटा कुरा महसुश पनि गरायो- सबै कुरा शब्दमा भन्नु पर्ने भन्ने हैन रहेछ। अलि पुरानको एउटा गितले भनेजस्तै: कति कुरा नभनेर नै मिठा हुन्छन्।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email