Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Oct 12, 2016

जिन्दगीलाई सच्च्याए!!



म सानो हुँदा, दशैँको बेला बुवाले मलाई लुगा किन्दिन एउटा पसलमा लानुभयो। त्यो पसलमा लुगा-जुत्ता त पाईन्थ्यो नै साथमा खेलौनाहरू पनि पाईन्थ्यो। बुवाले लुगा छान भनेर मलाई छोडेर पसलका दाई सँग गफ गर्न थाल्नुभयो। मचाहि लुगा भन्दा पनि खेलौनाहरू हेर्न थाले। त्यहाँ एउटा सानो प्लेन थियो। पछाडी तानेर छोडेर पछि, कुदेर अगाडी पुग्ने। हेर्दा पनि फाईटर प्लेन जस्तो। मलाई त्यो प्लेन एकदम मन पर्यो। तर मैले बुवालाई यो किन्दिनुन भन्न सकिन। बरू एकछिन खेले जस्तो गरेर कसैले थाहा नपाउने गरी खल्तीमा हाले।

एकछिनमा हामीले लुगा किनिसकेपछि हामी त्यहाँबाट घर तिर लाग्यौँ र मैले प्लेन चोरेको कसैले थाहा पाएन।

पैसा नै नतिरी आफुलाई मन परेको खेलौना लयाउन सकेको म घर पुग्दा एकदम दंग भए। घर पुग्ने बित्तिकै म प्लेन निकालेर दोडाउन थाले। एकछिनमा बुवाले सोध्नुभयो-“कहाँबाट ल्याईस?”

मैले दङ्ग हुदै भने- “त्यो पसलबाट झिकेको, कसैले थाहा नै पाएन। पैसा नि दिनु परेन।“

मलाई लागेको थियो बुवा पनि आफ्नो पैसा जोगाईदिएकोमा म सँग खूशी हुनुहुन्छ होला। तर उल्टो भयो। बुवा त एकदम रिसाउनु भयो। चोरिस भनेर मलाई एकदम गाली गर्नुभयो। त्यसपछि बुवाले त्यो प्लेन नै जफत गर्नुभयो।

त्यो साँझ बुवाले त हाम्रो घरमा ती पसलेलाई पो ल्याउनुभयो। उनको घर पनि हाम्रै गाउँमा थियो। अनि वुवाले उनको हातमा त्यो प्लेन राख्दिनु भयो, र मलाई नै त्यसको कहानी भन्न लगाउनुभयो। म सानो त थिए तर आफुले गल्ती गरेको कुरा आफैले भन्नुपर्दाको लाज महसुस गर्ने भनै भैसकेको थियो। मैले डराई डराई सबै कुरा भने। मलाई ती पसले दाईले साफ गाली गर्लान जस्तो लागेको थियो, तर फेरी उल्टो भयो। उनले त नरम स्वरमा मलाई सम्झाएर पो, भने- “माग्या भए म दिहाल्थे नि बाबु। चोर्नु हुन्छ त?”

मैले केहि बोलिन। उनले नै भने- “सानो ठूलो केहि कुरा पनि चोर्नु हुदैन। काँक्रा चोरे पनि सुन चोरे पनि, चोर भनेको चोर नै हुन्छ।“

उनले भनेको त्यो कुरा मेरो मनमा बिझ्यो। अब देखी चोर्दिन भनेर माफ मागे। ती दाई जाने  बेला प्लेनको पैसा दिनुभयो तर उनले लिएनन्। उनले मलाई त्यो प्लेन उपहारमा दिए। त्यो प्लेन पछि सम्म पनि मसँगै भयो, र मलाई सम्झाई रह्यो- चोर्नु हुदैन।

त्यसपछि मैले कहिले चोरिन। अलि ठुलो भएपछि, एकदिन नेपाली पढाउने सरले एउटा पाठको सिलसिलामा भन्नुभयो- “हामीले गरेको गल्तीले हैन, त्यो गल्तीलाई सच्च्याउनको लागी हामीले गरेको प्रायसले चाहि हामीलाई चिनाउँछ।“

आज म सोच्छु, मैले आफैले त्यो गल्तीलाई सच्च्याउने प्रयास त गर्न सकिन, तर फेरी नचोर्नका लागी जिन्दगीलाई सच्च्याए। सायद, कुनै दिन मलाई यसैले चिनाउँछ होला। J

 


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email