Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 2, 2015

फेसबुकले जुटायो दिपेन्द्रलाई सहयोग



Dipendra Moktan with his father.

Dipendra Moktan with his father.

पहिलो स्टाटस: मिति २०७१ भाद्र १४ गते

“हामी ढाड भाँच्चिएर, हात खुट्टा नचल्ने मान्छेलेहरूले यो देशमा भोकभोकै मर्नु पर्ने हो र सर?”
उनले मलाई भेट्ने बित्तिकै यसो भने। मैले आज दिउँसो उनलाई भृकुटीमण्डपमा भेट्दा, उनी व्हिलचियरमा थिए, उनको हात मजाले चल्दैन थियो, पिसाब फेर्नलाई शरिर भित्र बाट पाईप निकालिएको थियो र पिसाब जम्मा गर्न व्हिलचियरको तल एउटा झोला। उनको व्हिलचियरलाई ठेल्ने एकजना पाका मानिस थिए। उनले भेट्ने बित्तिकै मलाई त्यसो भनेकाले मैले उनीसँग समय लिएर कुरा गरेँ।
उनको नाम दिपेन्द्र मोक्तान, घर रामेछाप। रामेछाप त जिल्ला मात्रै- उनको गाउँ गाडी पुग्ने ठाउँ बाट ४ घण्टा पैदल दुरीमा रहेछ। एक बर्ष अगाडी सम्म उनी काठका सिकर्मी रहेछन्- उनकै शब्दमा हेड मिस्त्री। उनी काठमाडौँको एउटा फर्निचर कारखानामा काम गर्थे। बिहे गरेका थिए- जिवन राम्रै थियो।
एकदिन कामको सिलसिलमा एउटा दुर्घटना भयो। काठको गर्हौँ पलङ्गहरू लडेर उनलाई किचे र उनको स्पाईनल ईन्जुरी भयो अर्थात ढाड भाच्चियो। उनी अपाङ्ग भए। काम गर्ने कारखानाले खासै सहयोग गरेन। उपचार गर्दा पनि धेरै पैसा सकियो। श्रिमतिले अपाङ्ग भयो भनेर छोडेर हिडिन्। अहिले सम्म पनि कहिले के, कहिले के को समस्या भएर उपचार गर्न काठमाडौँ आइरहनु परेको छ। यसपाली मात्रै चालिस हजार रुपैया सकियो।
यति सुनाएर उनले मतिर हेरेर भने- “मेरो बाउ हो सर यो। उ पनि बुढो भैसक्यो। उसको सेख पछि मेरो के हुन्छ होला। उ भन्दा अगाडी मर्न सके त हुन्थ्यो तर सबै कुरा भनेजस्तो कहाँ हुन्छ।“
यति भनेर उसले आकाश तिर हेर्यो। मैले बुझे- उसले झर्न लागेका आँशु भित्रै ठेल्न खोज्दै थियो।
उसको बुबाले उसलाई गाली गरे- के भन्छस् तँ।
उसले झर्किदै भन्यो- अनि हो त। म केहि गर्न सक्दिन। पिसाब भरियो यो झोलामा भने फ्याक्न पनि सक्दिन। बस्ने ठाउँ छैन। म मरे बरु सजिलो हुन्थ्यो।
बाउले भने- किन छैन। केहि भएन भने घर लान्छु बोकेर। खोले ढिडो- जे हुन्छ, त्यहि खाउँला।
मैले ती बुढा मान्छेको अनुहारमा हेरेँ। डुब्न लागेको घाममा उनको आँखाको आँशु प्रस्ट टल्कियो।
त्यसपछि दिपेन्द्र मलाई भने- सर तपाईँहरू ठुलो मान्छे। मलाई यहाँ काठमाडौँमै बस्न मिल्ने एउटा ठाउँ खोज्दिनु न। मलाई गाउँ जान सार्है गार्हो हुन्छ। यसपाली नि डोकोमा बोकिएर आको। म यतै बसेँ भने मेरो बाउ-आमा लाई पनि सजिलो हुन्थ्यो। नभए त मलाई रुघेर बस्नु कि खेतमा काम गर्न जानु। बिन्ति छ सर मलाई त्यति गर्दिनु भयो भने- भग्वान भन्दा ठुलो हुन्छ।
यति भनेर उनले नमस्कार गरे। नमस्कार गर्न पनि उनको हात राम्ररी जोडिएन।
मैले सहन सकिन। उसको हात समाए। भक्कानिएर रुन मन थियो- सम्हालिए। हाम्रो देशमा यसरी अपाङ्गता भएका व्यक्तिहरूलाई बस्न मिल्ने नै ठाउँ धेरै छैन। सँस्थाहरूले धेरैलाई राख्न सक्दैनन्- सरकारी योजना छैन। मैले आफुले चिनेका मान्छेहरूलाई उनीहरूकै अगाडी फोन गरे- तर अँह कतैबाट उनलाई राखेर यतै केहि गराउन सक्ने ठाउँ भेटिन। मैले सच्चा मनले प्रयास गर्दा पनि- उनको लागी केहि गर्न सकिन।
मलाई त्यो बेला असाध्यै हिनताबोध भयो। म खुब अधिकार कर्मी भैखाको। फेसबुकमा सबलाई प्रेरणा दिने- आज दुखले रुदै गरेका बाबु-छोराको आँशु पछ्न सकिन।
मैले उनको हात समाए र भने- घर कहिले फर्कने?
उनले भने- घर फर्कने पैसा पनि छैन। अब खोजखाज गरेर पर्सि फर्कने होला। हैन बुवा।
उनका वुवाले भने- आफन्तको कोठामा बसेका छौँ, उनीहरूले त आजै जा, अहिले जा भन्छन्। अब भोलि यसो हेरेर पर्सि जान्छु। घर जान पनि पाँच हजार लाग्छ। यसलाई बोकार लानु पर्यो।
मैले यसपाली हिम्मत गरेर भने- भोलिको दिन बस्नुस्। म तपाईहरूको लागी सहयोग खोज्छु। यता बस्ने ठाउँ पाए यतै राख्ने नत्र केहि पैसा नै भएपनि तपाईहरूलाई खोज्छु। केहि नभए पर्सि तपाईँहरुलाई घर जाने पैसा म दिन्छु।
यति भनेर- बाबु छोरालाई बिदा गरेर, म भारी मन लिएर घर आएँ। मैले कसैलाई आज सम्म केहि मागेको छैन। आज तपाईहरू सँग माग्दैछु- दिपेन्द्रलाई सहयोग म एक्लै ले गर्न सक्दिन। उसलाई बस्ने ठाउँ भेटिन्छ कि यता, बुझ्दिनुस् न। केहि नभए पनि यी बाबुछोरालाई केहि पैसा दिएर घर पठाउँ, हामीले सक्ने जति यीनिहरूलाई खुशी दिउँ। साथ दिनुहुन्छ?

दोस्रो स्टाटस: मिति २०७१ भाद्र १५ गते

मैले हिजो साँझ मेरो फेसबुकमा दिपेन्द्र मोक्तान, उनका बुवा र उनीहरूको दुखको बारेमा एउटा पोस्ट लेखेको थिएँ। त्यो पोस्ट पछाडी आएको साथीहरूको प्रतिक्रिया र सहयोगले मलाई फेरी मानवता प्रति विश्वास जगाएको छ।
बिहानै हार्दिक होटल, बागबजारका रमेश पाण्डेले फोन गरेर भन्नुभयो- “सागर सर, ती भाई र वहाँको बुवालाई यहाँ केहि व्यवस्था मिलाईन्जेल र उपचार केहि गरून्जेल निशुल्क खाने बस्ने व्यवस्था मेरो होटल ले गर्नेछ।“ मलाई वहाँको यो कुराले एकदमै खुसी दियो। दिपेन्द्रलाई यहाँ कतै केहि व्यवस्था गराउन प्रयास गरिन्जेल पनि उनी र उनका बुवालाई बस्न खान समस्या थियो। उनी बसिरहेका आफन्तले पनि हरदिन घर जाउ भनेकाले उनीहरू सार्है चिन्तित थिए। आज दिउँसो रमेश जीको होटलको सजिलो र फराकिलो कोठामा लगेर उनीहरूलाई राख्न पाउँदा- मलाई कति आनन्द भाको छ, यहाँ लेख्न सक्दिन। धन्यवाद रमेश जी।
त्यसैगरी हिजो र आज गरेर, देश-विदेसमा बस्नुहुने साथीहरूले दिपेन्द्रलाई आर्थिक सहयोग पनि गर्नुभयो। हिजो बेलुका देखी आज दिउँसो जम्मा गरेर ४२,००० (बयालिस हजार रुपैया) संकलन गरेर मैले दिपेन्द्र र उनका बुवालाई दिए। यसका लागी- अमेरिकाबाट कमल प्रधान ले १०,००० (दश हजार), डिल्ली काफ्ले ले ६२६३ (छ हजार दुई सय त्रिसठ्टी), सौहार्द राईले ५,००० (पाँच हजार), ईजरायलबाट ज्ञान रम्पाल ले ५००० (पाँच हजार), सिंगापुरबाट बिजया लिम्बु र वहाँका साथीहरूले ७,७२५ (सात हजार सात सय पच्चीस), नेपालबाट सुप्रलराज जोशी ले ३,००० (तीन हजार), रबिन्द्र पन्तले २००० (दुइ हजार) र सँगै हामी सँस्थाका तर्फबाट ३,०१२ (तीन हजार बाह्र) सहयोग स्वरुप प्राप्त भयो। यसबाहेक पनि अरू धेरै साथीले सहयोग गर्न खोज्नुभएको थियो तर अहिलेको लागी हामीले यति मात्रै लिने निधो गर्यौँ। पैसाको सहयोग मात्रै ठुलो कुरा होईन- सद्भाव सबभन्दा ठुलो हो। दिपेन्द्रको लागी सद्भाव त यति प्राप्त भयो कि त्यसलाई रकमान्तर गर्न मिल्ने भए त्यो करौडौँ रुपैया बराबरको हुन्थ्यो होला।
दिपेन्द्र यसपालीको लागी भोलि घर फर्कदैछन्। उनी फेरी तिन महिना पछि उपचार गर्न काठमाडौँ आउने छन् र त्यो बेला फेरि उनलाई सहयोग चाहिने सक्छ। र विविध कारणले यो पाली सहयोग गर्न नपाउनु भएका साथीहरूले उनलाई त्यो बेला सहयोग गर्नुहुनेछ। त्यो मलाई विश्वास छ।
अन्त्यमा आज मैले देखेको एउटा मनछुने कथा सुनाउछु। हिजो मैले फेसबुक मार्फत दिपेन्द्रको लागी सहयोगको याचना गरेपछि रबिन्द्र पन्त भन्ने एकजना भाईले पनि सहयोग गर्छु भनेर मेसेज गरे। म रबिन्द्रलाई राम्री चिन्छु। उनी आफै पनि अपाङ्गता भएका व्यक्ति हुन्। अफ्ट्यारो गरेर हिड्छन्। कतै जागिर पनि खादैनन् जस्तो लाग्या थियो, त्यसकारण भने- भाई पैसा नै दिनुपर्छ भन्ने छैन। तिमीसँग पनि छैन होला। तर उनले मानेनन्, बरू भने- म सँग टन्न भएर दिन लागेको हैन दाई, बरू आफुसँग केहि नहुदा कस्तो हुन्छ भन्ने मैले महशुस गरेको छु, त्यसकारण दिपेन्द्रले त्यो महसुस गर्नु नपरोस् भनेर दिन लागेको। उनले त्यति भनेपछि- मैले उनको सहयोग स्विकार्नु पर्यो।
रविन्द्र र तपाईहरू सबैले मलाई फेरी अथाह खुशी दिनुभएको। म जहिले पनि भन्छु- यो फेसबुक मेरो लागी एउटा औजार हो- खुशी उत्पादन गर्ने औजार। तर जसरी कुनै औजार शिल्पी बिना चल्दैन, त्यसरी नै फेसबुकले खुशी तपाईहरू जस्तो व्यक्तिको सहयोग बिना उत्पादन गर्ने सक्दैन। मलाई म हुने मौका दिनुभयो- र दिपेन्द्र र उनको बुवाको जिवनमा केहि खुशी जोहो गरिदिने माध्यम बनाईदिनुभयो- धन्यवाद। र मनबाट नमस्कार!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email