Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Jul 6, 2015

एउटा मन छुने कथा



(यो लेख सेतोपाटीमा प्रकासित भएको छ। सेतोपाटी मै पढ्नलाई यहाँ क्लिक गर्नुहोस्।)

भूकम्पले चारै तिर धेरै क्षति गरेको थियो। सुशील र बासुदेवलाई कहाँबाट सहयोग गर्न सुरू गर्ने भन्ने निर्णय लिन नै अफ्टेरो परिरहेको थियो। सके त देश भरकै पीडितहरूलाई सहयोग गर्ने विशाल मन भएका यी दृष्टिबिहिन दाजुभाईसँग त्यस्तो मनग्गै स्रोत थिएन। त्यसकारण उनीहरूले एक पल्टमा एक ठाउँबाट सहयोग गर्न सुरू गरे। र पहिलो थलो छाने-आफूहरूले नै पढेको धुलिखेलस्थित संजिवनी स्कूललाई।

संजिवनी स्कूल भत्किएको र त्यहाँ बसेर अध्ययन गरिरहेका केहि दृष्टिबिहिन विद्यार्थी र शिक्षकलाई सहयोगको खाँचो परेको कुरा सुनेर उनीहरूले त्यहाँ जाने अठोट गरेका थिए। सुशील र बासुदेवले त्यस ठाउँमा राहतकका सामाग्री र साथीहरूको सहयोगमा स्वास्थ सेवा लिएर पुग्दा त्यस स्कूलका विद्यार्थी र शिक्षकहरू मात्रै हैन वरीपरीका अन्य पीडितहरूलाई पनि ठूलो सहयोग भयो। अपाङ्गता भएका, नभएका सबै मानिसहरू एकठाउँमा भेला भएर उनीहरूसँग सहयोग लिए। त्यहाँ सहयोग चाहने मान्छेहरुको भीड नै लाग्यो।

त्यही भीडमा मान्छेहरू मध्ये एक थिए- नारायण सिग्देल। धादिङ स्थायी घर भएका नारायण आफू पनि आँखा देख्दैन थिए र काभ्रेमा मैन बत्ति बनाउने पेसा गरेर बस्थे। भूकम्पले बसेको घर चर्किएपछि, उनको पनि स्थिति दुःखद् बनेको थियो र संजिवनी स्कुलमा राहत बाँड्दैछन् रे भनेको सुनेर उनी त्यहाँ आएका थिए। त्यहाँ आईपुग्दा उनी चकित मात्रै भएनन्- हर्षले विभोर पनि भए। किनभने त्यहाँ सबैलाई राहत बाँड्न आएका मान्छे - उनी जस्तै देख्न सक्दैनथे।

तर, पनि देख्न सक्नेहरूलाई सहयोग गर्न अघि सरेका थिए। तर त्यो भन्दा पनि ठूलो कुरा राहत बाँड्न आएका सुशील र बासुदेव उनका पुराना साथी थिए- जो सँग विविध कारणले उनको भेट नभएको बर्षौँ भएको थियो।

त्यहाँको कार्यक्रम सकिसकेपछि नारायणले सुशील र बासुदेवलाई भेटे। उनीहरूबीच तिता मिठा कुरा भए- यो भूकम्पले बर्षौँ अघिका साथी भेटाएकामा उनीहरू सबै खूसी थिए। कुराको सिलसिलामा नारायणले उनीहरूलाई भने- 'हेर्नुस साथीहरू, हाम्रो समाजमा हामी देख्न नसक्ने मान्छेलाई माग्ने र दुःखी जस्तो व्यवहार गर्छन् भन्ने कुरा हामीलाई थाहा नै छ। मेरो धादिङ्को गाउँमा पनि म त्यही पिर खप्न नसकेर हिँडेको। उनीहरूको अपहेलनाबाट बच्न यता आएदेखि, म गाउँ तिर पनि त्यति गएको थिइन। तर अहिले सुन्छु, मेरो टोलका ४० घरहरू भत्किएको छन् रे। सबै मान्छेहरूले धेरै दुःख पाएका छन् रे। बरू सकिन्छ भने तपाईहरू दुई जना मेरो गाउँका ती ४० परिवारलाई केहि सहयोग जुटाईदिनुस् न। मेरा गाउँलेले राहत त पाउँथे नै तर सबभन्दा ठूलो कुरा उनीहरूले देख्न नसक्ने मान्छेले पनि देख्न सक्नेलाई सहयोग गर्न सक्ने रहेछ भन्ने बुझ्थे। त्यति भए ठूलो परिवर्तन हुन्थ्यो।'

नारायणको कुरा घत परेर, सुशील र बासुदेवले नारायणको गाउँमा राहत लाने तयारीमा जुटे। साथीहरू छलफल गरेर खाद्यान्न, सरसफाईका सामान, झुल र स्वास्थ्य टोली जुटाएर उनीहरू नारायणलाई साथै लिएर धादिङको कल्लेरी गाउँ पुगे। त्यहाँ उनीहरूले ४० गाउँले र नारायण पनि एक पीडित भएकाले उनको लागि समेत गरेर ४१ परिवारको लागि राहत सामाग्रि लिएर पुगेका थिए।

तीन जना देख्न नसक्ने मान्छे, अघीपछि राहत र सहयोगीको लर्को लाएर दुःखमा मलम लाउन आईपुगेको देख्दा गाउँलेहरू खुसी थामिएन। उनीहरूले सुशील, बासुदेव र नारायणलाई भव्य स्वागत गरे। राहत लिईसकेपछि आँखामा खूसीका आँशु छल्काउँदै धेरै गाउँलेहरूले उनीहरूलाई धन्यवाद भने र नारायणलाई पुरानो कुराको लागि माफी मागे।

सबैको एक एक गरी नाम बोलाउँदै राहत बाँड्ने क्रममा सुशील र बासुदेवले अन्तिममा नारायणको नाम बोलाए। आफ्नो पनि नाम राहत पाउने लिस्टमा सुनेर नारायण चकित भए। उनले सबै गाउँले, सुशील र बासुदेवका अगाडि गएर भने-'मलाई पनि सहयोग गर्ने सोच्नुभएकोमा सरहरूलाई धन्यवाद। तर म यो सहयोग लिन सक्दिन। भूकम्पले मेरो मैनबत्ति बनाउने मेसिन बिगारेको छैन। म काभ्रे फर्केर त्यही पेसा गरेर खाईहाल्छु। बरू मेरो सट्टा यो सहयोग अर्को दुःखीले पाओस।'

नारायणको यस्तो कुरा सुनेर गाउँले सबै छक्क परे। यस्तो बेलामा पनि पाएको सहयोग अरुको लागि त्याग्न सक्ने मान्छे भनेर नारायणको लागि सबैले ताली बजाए। सुशील र बासुदेवको अगाडि आफ्नो साथीको ईज्जत झन् बढ्यो। सबैको सहमति अनुसार नारायणको लागि छुट्टाईएको सहयोग सामाग्री एकजना अति बिपन्न मान्छेलाई दिने निर्णय भयो। यसरी आफूले सकेको सहयोग गरेर र गाउँलेको मनमा अपाङ्गता भएका व्यक्तिहरूको सकारात्मक छवि भरेर सुशील, बासुदेव र नारायण फर्किए।

मैले सुशील र बासुदेवलाई चिनेको धेरै भयो। तर नारायणलाई चिनेको थिईन। केहि दिन अगाडि मात्रै सुशीलले फोन गरेर भने- 'म आज सरसँग भेटाउन एकजना गज्जवका मान्छे लिएर आउँछु।'

त्यहि दिन हो नारायणलाई भेटेको। उनको कथा पनि त्यही दिन सुनेको हो। उनलाई भेटपछि र उनको बारेमा यस्तो कथा सुनेपछि मलाई साँच्चिकै गज्जव मान्छे भेटेको जस्तो महशुस भयो।

रोबर्ट ईंगरसलले धेरै पहिला भनेका थिए- वी राईज बाई लिफ्टिङ्ग अदर्श्! (अरुलाई उठाउँदा, हामी आफू अझ माथि पुग्छौँ।)। सुशील, बासुदेव र नारायणका कुराहरू सुन्दा र उनीहरूले गरेका कामहरू हेर्दा माथिको भनाई यस्तै मान्छेहरूको लागि लेखिएको हो कि जस्तो लाग्छ।

प्रकाशित मिति: शनिबार, आषाढ १९, २०७२ ११:०६:५२


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email