Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Dec 30, 2016

नयाँ वर्ष २०१७ को शुभकामना!!



कमलपोखरीमा सिटि सेन्टर अगाडी जाम थियो। मेरो अगाडी एउटा भिड टेम्पो रोकिएको थियो जस्को ढोकामा एकजना भर्खरका केटा झुन्डिएका थिए। यतिकैमा एकजना अलि बुढा मान्छे पनि त्यो टेम्पोमा झुन्डिन खोजे। तर उनलाई एकदम गार्हो भयो। उनले फेरी पनि प्रयास गरे। त्यो देखेर मैले भने- "यस्तो मा कसरी जानुहुन्छ बुवा, म लगिदिन्छु गौशला सम्म।"

उनले मतिर हेरे, अनि मेरो स्कुटरका चारवटा चक्का देखेर अलि अफ्ट्यारो मान्दै भने-"चावहिल पुग्नुपर्ने हो बाबु।"

मैले भने-"म चावहिल नै पुर्याईदिउला आउनुहोस्।"

उनी सरासर मेरो स्कुटर पछाडी बसे। जाम खुले पछि हाम्रो यात्रा सुरू भयो। बाटोमा उनको र मेरो खास कुराकनाी भएन। घरी घरी म केही अफ्ट्यारो भएको छ की भनेर सोध्थेँ र उनी सबै ठीकै छ भनेर जवाफ दिन्थे। त्यति हो।

चावहिल चोक आउनलाई अलि कति मात्र बाँकी भएपछि, मैले स्कुटर रोक्दै भनेँ-"बुवा, यहा बाट जान सक्नुहुन्छ? अगाडी गएँ भने म जाममा पर्छु, फेरी फर्किएर गौशाला पुग्नुपर्छ।"

उनले सहर्ष स्विकारे र भने-"यहाँबाट म हिड्दै पुगिहाल्छु।"

त्यसपछि उनी मेरो अगाडी आए र स्विटर भित्र हात हालेर सर्टको गोजीबाट बिस रुपैयाको नोट झिकेर दिए।
मलाई अचम्म लाग्यो। मैले हाँस्दै भने- "पैसा पर्दैन बुवा। तपाईलाई सहयोग पो गरेको।"

उनले पैसा नदिई मान्दै मानेन। भने-"यतिन्जेल कसैको केहि नलिई जिन्दगी चल्यो बाबु। अब मर्न पनि त्यसै गरी पाईयोस्। सकेँ भने कुनै दिन तिमीलाई पनि मद्दत गरूँला नत्र यही तिम्रो गुन तिरेको भो!"

उनले त्यति भनेपछि मैले केहि भन्न सकिन। उनले दिएको पैसा लिएँ। उनी म सँग बिदा मागेर अगाडी बढे। म पनि घर तिर फर्किएँ।

बाटो भरी मैले उनले भनेको कुरा सम्झिरहेँ र मलाई यसले धेरै प्रभावित गर्यो।

नयाँ वर्ष आउँदैछ। यो वर्ष म पनि सबको गुन तिर्ने प्रयास गर्ने छु। तपाईँहरू सबै जना पनि त्यसै गर्न सक्नुहोला।

नयाँ वर्ष २०१७को शुभकामना!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email