Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Feb 6, 2017

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!



अलिदिन अगाडी अष्ट्रेलिएन एम्बेसीको एउटा रात्रीभोजमा म पनि आमन्त्रित थिएँ। तर त्यहाँ अरू खासै मैले चिनेका मान्छेहरू थिएनन्। त्यसकारण म यसै एक्लै बसिरहेको थिएँ। राजदुतले देख्नुभएछ। पहिला पनि एक दुई पल्ट भेट भएकाले वहाँले मलाई चिन्नुहुन्थ्यो। चिन्नुहुन्थ्यो भन्दा पनि ठम्याउनु हुन्थ्यो भनौँ।

वहाँ मेरो छेउमा आउनुभयो, टुक्रुक्क बस्नुभयो र भन्नुभयो- "यति गरेपछि बल्ल तपाईको र मेरो उचाई मिल्यो। अब कुरा गर्न सजिलो हुन्छ।"
एक त त्यति ठुलो अहोदाका त्यस माथि अलि उमेर पनि भैसकेका मान्छे, यसरी अफ्ट्यारो गरेर मेरो छेउमा घुँडा मारेर बस्दा- मलाई एकदमै सकस पर्यो।

"एउटा कुर्सी भए हुन्थ्यो" भनेर यता उता हेरेँ।

वहाँले हैन मलाई अफ्ट्यारो छैन भन्दै हुनुहुन्थ्यो, खै कसले हो, एउटा कुर्सी ल्याईदियो र वहाँ त्यसमा बस्नुभयो। बल्ल मलाई अलि सहज भयो।
त्यसपछि वहाँले मसँग विविध विषयमा कुरा गर्नुभयो। कामको, घर परिवारको र देशको विषयमा एकछिन गफिए पछि वहाँले -"ल म अब फेरी एकछिन उता लाग्छु है" भन्नुभयो।

त्यहि बेला मैले पनि वहाँसँग बिदा मागे।

वहाँले भन्नुभयो-किन यति छिट्टै?

मैले भने-"अँध्यारो पनि भैसक्यो। फेरी मैले यहाँका धेरै मान्छेलाई चिनेको पनि छैन। अलि अल्छि लाग्न थाल्यो।"

यति भनेपछि राजदुत हाँस्नुभयो र भन्नुभयो- एउटा गोप्य कुरा भनौँ?

अनि वहाँ मेरो अलि नजिक आउनुभयो र भन्नुभयो-"मैले पनि यहाँका धेरै मान्छेलाई चिनेको छैन। तर मैले त तपाईको जसरी स्वाट्टै हिड्न मिल्दैन।"

वहाँको कुरा सुनेर म हाँसे। वहाँ पनि हाँस्नुभयो। अनि म त्यहाँ बाट बिदा भएर हिडे।

जानेबेलामा वहाँले भन्नुभयो- राम्ररी घर पुगे पछि खबर गर्दिनुहोला। अनि फेरी हाँस्दै भन्नुभयो- मेरो नम्बर त छैन होला। कृष्ण (एम्बेसीका मैले चिनिरहेका कर्मचारी) लाई भन्दिए हुन्छ, उनले मलाई सुनाउँछन्।

यसरी त्यसदिन राजदुतको व्यवहारले मलाई निकै ठुलो ओहोदामा भएर पनि डाउन टु अर्थ हुने मान्छेहरूको सम्झना गराईदियो।

कति मान्छे एकदमै सजिला हुन्छन् जसले गर्दा हामीलाई पनि सजिलो महशुस हुन्छ।

त्यहि दिन मैले एकजना पुर्व मन्त्रीज्यूलाई पनि सम्झिएँ। वहाँले कुनै एउटा कार्यक्रममा मैले नमस्ते गरिन भनेर धेरै पछि सम्म मलाई नदेखेको जस्तो गर्नुहुन्थ्यो। बोल्नुहुन्नथ्यो।

मेरो एकजना साथीले सधै भन्नुहुन्छ- "जसको जति क्षमता हुन्छ, उसले त्यति मात्रै गर्न सक्छ - काम पनि, व्यवहार पनि!"

यी सबै कुराहरू बिचमा कवि शिरोमणी लेखनाथ पौड्यालले आफ्नो कविता "नैतिक दृष्टान्त" मा लेख्नुभएको एउटा पङ्कति प्रस्तुत गर्नु उपयुक्त हुन्छ होला:

"उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!"


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email