Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 8, 2015

सानो भाई र फो व्हिल स्कुटर



“अंकल”
सानो बच्चाको आवाजले म झस्के र स्कुटर रोकेँ।
हाम्रो चोकमा रहेको एउटा मोमो पसल छेउमा रहेको अर्को किराना पसले दिदिको छोरा रहेछ। मैले खाजा खान जाँदा चिनेको उसलाई। आजकल त्यो मोमो पसल नै बन्द भएकाले, त्यो भाई सँग नि मेरो धेरै दिन देखी भेट भएको थिएन।
मैले स्कुटर रोकेपछि उ मेरो छेउमा आयो।
मैले भने- “हेल्लो।“
उसले भन्यो-“अंकल, हजुरको खुट्टा ठिक भाको हो?”
मैले उसलाई सोधे- “किन र?”
उसले भन्यो-“किन व्हिलचियरमा नहिड्या त!”
डेढ बर्ष जति अगाडी हो क्यार। उ सँग पहिलो चोटि भेट हुँदा उसले मेरो व्हिलचियर चाख मानेर हेरेको थियो। त्यो बेलामा उसले व्हिलचियरलाई चक्का भाको कुर्सी भन्या थियो। त्यो बेला मैले उसलाई व्हिलचियर भन्न सिकाएको थिए। त्यो कुरा उसले कहिले बिर्सेन। त्यसपछाडीका हरेका दिन मलाई देख्ने बित्तिकै उ बोलाउँथ्यो र उसलाई खुशी बनाउन म सोधिदिन्थे- यसको नाम के रे? अनि उ रमाउँदै भन्थ्यो- व्हिलचियर!!
त्यो दिन पनि उसले मलाई देखेर व्हिलचियर कै बारेमा सोध्यो।
मैले उसलाई भने- “व्हिलचियर त घरमै छ।“ अनि स्कुटर देखाउँदै भने- “ यो हेर मेरो स्कुटर।“
उसले स्कुटरलाई हेर्यो अनि मलाई हेर्यो र भन्यो- “अनि यसको नाम पनि व्हिल स्कुटर हो अंकल?”
मैले हाँस्दै भने-“होईन। व्हिल त सबै स्कुटरमा भईहाल्छ नि।“ अलि अगाडी रोकिराखेको अर्को स्कुटरलाई देखाउँदै मैले उसलाई भने- “उ हेर त त्यो स्कुटरमा नि त व्हिल छ।“
उ निराश भयो। सायद उसले आफै पत्ता लाएएर भनेको कुरा मिलेन भनेर होला।
मैले उसलाई खुशी बनाउनको लागी केहि त गर्नै पर्ने थियो। उसलाई भने- “तर मेरो स्कुटरमा कति वटा व्हिल छ हेर त?”
उ फेरी उत्साहित भयो र स्कुटर वरीपरी घुमेर चक्का गन्यो।
“वान, टु, थ्री, फो- फो वटा रैछ व्हिलहरू।“
मैले उसलाई भने- “त्यो भए मेरो स्कुटरको नाम के भयो त?
उसले एकछिन् सोच्यो र भने- “अँ, फो स्कुटर व्हिल?”
म हाँसे।
उसले फेरी भन्यो- “हो अंकल? त्यहि हो?”
मैले भने- “थोरै मिलेन। फेरी ट्राई गर त।“
उसले फेरी सोच्यो र एकछिन मा भन्यो- “फो व्हिल स्कुटर!”
मैले भने- “हो ठिक, कस्तो मिलाको?”
त्यो भाईको अनुहार हँसिलो भयो। उ कस्तो मजाले हाँस्यो।
मैले उसलाई जिस्काउँदै भने-“तिमीलाई पहिले नै आउँथ्यो होला? अहिलेको अहिले जानेको त हैन।“
उसले घाँटिमा हातले छुदै भन्यो-“प्रोमिस हैन अंकल। अहिले नै जान्या हो। मलाई पहिला था त थिएन।“
मलाई उसको त्यो बालसुलभ क्रियाले मोहित बनायो।
मैले भने-“ल ल त्यसो भए, तिमी त क्या जान्ने रहेछौ। अब कहिले नबिर्स है त मेरो स्कुटरको नाम।“
उसले भन्यो- “हस्।“ र म तिर हेरेर भन्यो- फो व्हिल स्कुटर। र हाँस्दै आफ्नो पसल तिर कुद्यो।
म पनि आफ्नो घर तिर लागेँ।
मैले कलेज पढ्दा एक जना सरलाई सोध्या थिए- किन बच्चाहरू सधैँ यस्तो खुशी र मजाका हुन्छन्। सरले त्यो बेला भन्नुभा’थ्यो- किन भने बच्चाहरूले केहि गर्न लाग्दा हामीले जस्तो गल्ती हुनसक्ने हजार कारण बारे सोच्दैनन् र जे गर्ने हो, सबै ईनर्जी त्यहि काममा लाउँछन्।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email