Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Jun 8, 2016

कमिलाले सिकाएको पठ



सानो बेलामा म स्कुलमा बर्खे बिदा हुने बित्तिकै मामाघरमा गएर पन्ध्र-बीस दिन बस्ने गर्थेँ। मेरो मामाको घर वरीपरी ठूलो बँगैचाँ थियो। फुलहरूको मात्र हैन, आँपको, लिचीको आदि रुख नै भएको बँगैचा। अनि वरीपरी जता हेरे पनि बाँक्लो झार भएको हरीयो चौर। म, मसँगै गएका मेरा भाई-बहिनी, मामाहरूका छोराहरू सबै मिलेर त्यहि चौरमा बसेर खेल्ने गर्थ्यौँ।

यहि बेलाको म सानो हुँदा बखतकै एक बर्खे बिदामा घटेको एउटा घटना सुनाउँछु। त्यो बेला हामी झारमा बसेर खेलिरहँदा हामीलाई रोटे कमिला (कालो र ठुलो खालको कमिला) ले कहिले काहि टोक्ने गर्थ्यो। त्यो कमिलाले टोकेको ठाउँमा ठुलो फोका उठ्थ्यो र सार्है दुख्थ्यो। अरूहरू चाहि उभिएर र यता उता हिडेर खेल्न सक्ने तर म चाहि झारमै बसेर खेलिरहनु पर्ने हुनाले- ती कमिलाहरूले मलाई नै अलि बढि टोके।

त्यसपछी म ती कमिलाहरूसँग ज्यादै रिसाएँ। हाम्रो खेल्ने टोलीमा म नै अलि ठूलो थिएँ। मैले भनेको सबैले मान्थे। मैले सबैलाई भेला गरेर भने-"यी कमिलाले सार्है दुख दिए। यिनीसँग बदला लिनुपर्छ अब।" सबै तयार भए। बदला त लिने तर कसरी?
मैले नै कमिलाहरूलाई कठोर सजाय दिने उपाय निकालेँ । त्यसको लागी हरियो खुर्सानीलाई बिचमा चिरेर, कमिलाहरूलाई त्यस भित्र हाल्दिने र एकछिन सम्म तिनीहरूलाई त्यहि थुन्दिने। त्यसपछि बल्ल तिनीहरूलाई छोड्दिने। यसपछि मैले सिकाए बमोजिम मेरा सबै "सेना"हरूले कमिला बिरुद्धको युद्ध सुरू गरे। हामीले धेरैवटा कमिलाहरूलाई खुर्सनीभित्र चेपिदियौँ। निस्कदा बिचरा कमिलाहरू- बेतमासले यता उता लड्दै कुद्थे। र हामी हाम्रो बदला सफल भएकोमा हाँस्दै खुशी हुन्थ्यौँ।

तर यो प्रकियाले पनि मुख्य समस्या हल भएन। कमिलाले डराएर हामीलाई टोक्न छोडेनन्। बरू कमिलाहरू झन् उग्र भए। अब त सबैलाई एकदमै टोक्न थाले। हामी पनि झन् रिसायौँ र अझ बढि कमिलालाई खोर्सानीभित्र चेप्न थाल्यौँ। यो क्रम एक दुई दिन सम्मै चल्यो। दुवै पक्षको जित पनि भएन, हार पनि भएन। बरू सबैको जिउ भरी कमिलाले टोकेको फोकै फोका भए।

त्यसपछी मैले आजित हुदै, मेरी हजुरआमालाई यो सब कुरा सुनाएँ। वहाँले भन्नुभयो-"कमिलाले तिमीहरूलाई टोक्छन्, तिमीहरू कमिलाहरुलाई दुख दिन्छौ अनि उनीहरू झन् रिसाएर तिमीहरूलाई टोक्छन्।"

मैले रिसाउँदै भने-"अनि हामी तिनीहरूलाई झन् धेरै बेर खोर्सानीमा चेप्दिन्छौँ।"

हजुरआमाले भन्नुभयो-"अनि उनीहरूले तिमीलाई झन् धेरै ठाउँमा टोक्छन्।"

यसपाली म केहि बोलिन। वहाँले नै भन्नुभयो-"यसरी त कहिले सकिदैन यो कुरा।"

अनि मैले भने-"त्यसो भए के गर्ने त हजुरआमा?"

वहाँले भन्नुभयो-"माफि देओ बाबै कमिलालाई। उनीहरूको बाटोमा पर्दा एक-दुईवटाले टोक्छन्। त्यसले केहि हानी गर्दैन तिमेरूलाई। त्यहि भएर- त्यो कुरा तेत्तिकै बिर्सेर खेल्न थाल त! कुरा आफै मिल्छ।"

हजुरआमाले त्यसो भनेपछि मलाई पनि हो जस्तो लाग्यो। भोलिपल्ट देखि हाम्रो र कमिलाहरूको युद्धबिराम भो। हाम्रो तर्फबाट चाहि युद्धबिरामको पुरा पालना भयो, कमिलाहरूले चाहि कहिले काहि टोक्थे- तर हामी तिनीहरूलाई माफ गर्दिन्थ्यौँ। कमिलाहरूले पनि हिजो अस्तिका जस्तै उग्र भएर चाहि टोक्दैन थे।

त्यसरी केहि दिन बिते पछि- म घर फर्किए। पछि स्कुलमा एकदिन सरले महात्मा गान्धीको बारेमा पढाउँदा, गान्धीले भनेका एउटा कुरा सुनाउनुभयो-"कसैले थप्पड हान्दा, रिसाएर थप्पड नै फर्काउन त जस्ले नि सक्छ। तर थप्पड हान्नेलाई माफि दिन- हिम्मत चाहिन्छ।" सरले त्यो दिन यो कुरा सुनाउँदा- म खूसीले गद्गद् भएँ। कमिलाले टोक्दा उसलाई माफि दिएर- मैले कस्तो हिम्मतको काम गरेछू जस्तो लाग्यो। र त्यो बेलाको सानो, फटाहा र झगडालु मैले, मनमनमा सोचे-"अब सबलाई माफ दिन्छु। अनि धेरै हिम्मत भएको मान्छे बन्छु।"

अहिले ठूलो भएपछि मैले त्यो बेलाको बाचालाई पुरै पुरा गर्न त सकेको छैन। तर भरसक सानो कुरामा झगडा गर्नुभन्दा- माफि दिनै खोज्छु। र आज पनि मलाई हरेक पल्ट कसैलाई माफ दिदा- हिम्मत बढे झै लाग्छ।

जिन्दीको कुनै मोडमा, म एउटा सानो मान्छेलाई, म भन्दा धेरै सानो कमिलाले- ठुलो कुरा सिकाए। :)


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email