Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Aug 28, 2015

बराबर बनाउने सँघियता



कक्षा ८ मा पढ्दा मेरो खुट्टाको अपरेशन गरियो। भारत बाट आएका डाक्टरहरूले हिड्न सकिहाल्छ कि भनेर मेरो खुट्टामा क्यालिपर (फालामे लामो जुत्ता) लाईदिए र मलाई वैशाखी टेकेर हिड्न सिकाए। मलाई त्यसो गर्न एकदमै अफ्ट्यारो भयो तर पनि उनीहरूले हिड्दै गएपछि बानी हुने र पछि पछि आफै मजाले हिड्न सकिने आशा देखाए तर अगाडी भने-“तर त्यसका लागी धेरै नै अभ्यास गर्नुपर्छ। १ बर्ष जति तिमी दिनभरी नै वैशाखी टेकेर हिडिरहनु।“
डाक्टरको सल्लाह मानेर मैले १ वर्ष विध्यालय नै ड्रप गरेँ। र दिनभरी नै मेरो काम वैशाखी टेकेर आँगनमा हिड्ने हुन्थ्यो। मेरा सबै साथीहरू स्कुल जाने हुनाले म एक्लै दिनभर यताउता हिड्ने कोसिस गरिरहन्थेँ। मेरा दुवै खुट्टाको अलिकति पनि भर हुँदैनथ्यो- ती त फलामले टेको लाएकाले सिधा हुन्थे मात्रै। म वैशाखी टेकेर हिड्नुभनेको त मेरो शरिरको बलले यसो अलिकति अगाडी सर्नु मात्रै हुन्थ्यो। मेरो शरिर नै ब्यालेन्स हुदैनथ्यो, केहि गरी एउटा मात्रै वैशाखी चिप्ल्यो भने पनि म मजाले लड्थेँ। र म यसरी घर वरीपरी निकै पल्ट लडेको पनि थिएँ।
मेरो गाउँ देखी अलि तल अर्को गाउँ थियो- गोविनपुर। त्यहाँ धेरै जसो मधेशी मुलका थारूहरू बस्थे। उनीहरू सँग हाम्रो भेट भनेको हाम्रो गाउँका युवाहरू फुटवल खेल्न गोविनपुर नजिकैको बगरमा जाँदा मात्रै हुन्थ्यो। म पनि हाम्रो गाउँका साथीहरू सँग फुटबल हेर्न बगर जान्थे। हामी त्यता पुगेपछि गोविनपुरका युवाहरू पनि हाम्रो छेउछाउ आईपुग्थे तर हामीसँग बोल्दैन थे। हाम्रो गाउँको फुटबल टिम पुगेन भने दाईहरूले उनीहरूलाई पनि खेल्न दिन्थे र उनीहरू अति नै खुशी भएर फुटबल खेल्थे। उमेर हाम्रा दाईहरू र उनीहरू उस्तै भएपनि उनीहरू हामी भन्दा निकै सानो हुँ कि जस्तो गर्थे। हामी पनि उनीहरूलाई निकै हप्काउँथ्यौ। खेलमा केहि कुरा नमिलेमा उनीहरूले केहि भने पनि- हामीहरूले- के भनिस् रे भनेसि उनीहरू चुप लाग्थे। कति सम्म भने- हाम्रो गाउँमा भएका अलि काला मान्छेहरूलाई हामी सबैले- गोविनपुरको थारू भनेर जिस्काउँथ्यौ।
एकदिनको कुरा हो, म वैशाखी टेकेर घर भन्दा अलि तल पुगे। त्यहाँ एउटा खोला छ, खोला माथि पुल छ। पुलको दुवै साईडमा रेलिङ्ग भने छैनन। मलाई त्यो पुल सम्म पुग्न मन लाग्यो। र म निकै बेर लाएर त्यहाँ सम्म पुगेँ। म पुल पुग्दा नै एकदमै थाकिसकेको थिएँ। त्यहाँ पुगेर एकछिन उभिरहे। त्यतिकै परबाट गाई वस्तुहरू एकदमै दोडिदै आईरहेको देखेँ। पुल खासै चौडा पनि थिएन, र म पुलको लगभग छेउ तिर थिएँ। फेरी अर्को डरलाग्दो कुरा ती वस्तुहरूका घाँटिका डोरीहरू पनि सँगसँगै लत्रिदै थिए। मलाई एकदमै डर लाग्यो। या त मलाई वस्तुले हानेर लडाउने भए, नभएपनि उनीहरूसँगै लत्रेर आईरहेको डोरीले मलाई बेरेर लडाउने भयो। जे भएपनि- म पुलबाट खोलामा खस्ने निश्चित थियो।
त्यहि बेला पुलमा एकजना मान्छे आईपगे। उनी गोविनपुर तिरकै थिए सायद- उनको पहिरन त्यसतै थियो। उनले मलाई हेरे। मैले उनलाई वस्तुहरू तिर देखाउँदै, मलाई सहयोग गर्न अनुरोध गरेँ। उनले कहि नभनि मेरो अगाडी उभिएर मलाई गाई-वस्तुहरूबाट छेके। उनीठिक अगाडी भएकाले मैले उनलाई समाएँ पनि। उनलाई समाउन पाएपछि र वस्तुहरूबाट पनि पुरै छेलिएपछि, बल्ल मलाई अब म लड्दिन भन्ने विश्वास भयो। यसरी सबै बस्तुहरू बाटो लागी सकेपछि मैले उनलाई धन्यवाद भनेँ। तर उनी त उल्टै मलाई पो- नमस्ते गर्दै बाटो लागे।
त्यसदिन मलाई एकदमै नराम्रो लाग्यो। हामीले कुन हिसाबमा आफुलाई गोविनपुरका मान्छे भन्दा ठुलो ठानेछौँ र उनीहरूले के कारणले आफुलाई हामी भन्दा सानो ठानेछन्- र त हामीले उनीहरूलाई मनलाग्दि हेप्दा, जिस्काउँदा पनि उनीहरू हामीलाई केहि भन्दैन थिए। उल्टै आफैले सहयोग गरेर- आफै नमस्ते गर्दै जान्थे। त्यसदिन मेरो दिमागमा ठुलो झट्का लाग्यो। र मैले निकै पछि सम्म यो कुरा सोचिरहन्थे।
मैले निकै पछि सम्म पनि गोविनपुरका मान्छेहरूलाई खासै फरक देखिन। हाम्रो गाउँको स्वरुप नै फेरिदा पनि त्यहाँ मान्छे, त्यहाँका घर उस्तै थियो- र उस्तै नै थियो हाम्रो समाजको सँस्कार।
म सँघियता जान्दिन। मलाई थाहा छैन, कसलाई कति अधिकार दिनुपर्छ।
तर यो देशमा कोहि एक थरी मान्छेले अर्को थरी मान्छे भन्दा फरक देखिएकै आधारमा सानो र कमजोर महशुस गर्न नपरोस्- मलाई त्यति भए पुग्यो।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email