Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Jun 13, 2015

अबको नब निर्माणले मलाई पनि समेटोस्



Screen shot of published article from Setopati

Screen shot of published article from Setopati

(यो लेख सेतोपाटीमा प्रकासित भएको छ। सेतोपाटी मै पढ्नलाई यहाँ क्लिक गर्नुहोस्।)

म व्हिलचियरमा हिँड्छु। भूकम्प आउनुअघि मैले मेरो देशमा जान सक्ने ठाउँ अत्यन्त कम थिए। मैले जान चाहेका स्कुल, कलेज, सिनेमा हल, सभाहल, सपिङ् मल, होटल रेस्टुँरा आदि सबैतिर बनेका अग्ला सिँढिहरूले मेरो बाटो रोक्थे।

धेरै पल्ट धेरै ठाउँमा धेरै खालका पहल गर्दा पनि ती सिँढिहरू भत्केनन्। पुराना त पुरानै भए, नयाँ बनेका सार्वजनिक भवनहरूले पनि मेरो अनुनय स्वीकारेनन् र फेरि अग्ला सिँढी नै बनाए। अनि म फेरि तिनीहरूमा पनि जान नसक्ने भएँ।

'यी सिढी भत्काएर, कृपया मेरो व्हिलचियर गुड्ने बाटो बनाईदिनू न।'
'यो ढोका अलि चौडा बनाईदिनू न, मेरो व्हिचलियर नै छिरेन।'
'शौचालयलाई पनि हामीलाई सजिलो हुने बनाउन न, नत्र हामीले कहाँ पिसाब फेर्नू।'

भूकम्प अघिका मेरा प्रायः दिनहरू सरकारी, गैरसरकारी र व्यापारीक संस्थाहरूमा यस्ता कुरा गर्दै बित्थे। प्रत्येक पल्ट त्यस्ता कुरा गर्ने मिटिङमा जाँदा मैले घरमा थोरै पानी पिएर जान्थे, ताकी पिसाब आएर आपत नपरोस्। किनभने- यस्ता कुरा राख्न पाउने समावेशी मिटिङहरूमा मेरो लागि शौचालय हुँदैन थिए।

हरेक पल्ट यस्ता अनेकौं कार्यक्रमहरूमा मलाई र मेरो व्हिलचियरलाई दुई-तीन जना बलिया मान्छेहरूले बोकेर माथि चढाउनु पर्थ्यौ।

भूकम्प आउनुभन्दा अगाडि नेपालमा धेरै कानुन आए, निर्देशिकाहरू जारी भए र नीतिहरू तयार भए। तर अहँ यस्ता कुनै पनि चिजहरूले सिढी भत्काएर व्हिलचियर र्‍याम्प बनाउन सकेनन्। मानिसहरूले घर बनाउन त मापदण्डको पालना गरेनन्, त्यो घर भित्रको एउटा सिढी बनाउन वा नबाउनलाई झन् नियमको के पर्वाह!

त्यसपछि जे नहुनु पर्थ्यो, त्यो भयो। भूकम्प आयो। धेरै मान्छेहरू मरे, घाईते भए, धनजनको क्षति भयो। हामी सबैको लागि यो भूकम्पले महाविपत्ति ल्यायो। देशको अर्थतन्त्र वर्षौं अगाडि धकेलियो।

मेरो एकजना साथी मनोज भट्टराईले आफ्नो फेसबुकमा लेखेका थिए-'एकजना एकदमै राम्रो लेख्ने व्यक्ति थियो। उसले लेखेका हरेक कुराहरूमा उसका सबै साथीहरू मोहित हुन्थे। उसले निकै मेहेनत गरेर एक उपन्यास लेख्यो र त्यसलाई छाप्नका लागि प्रकाशकका पठाउन तयार भयो। तर, त्यसैबेला भयानक आँधी आयो र उसले लेखेका सबै पानाहरूलाई हावाले उडाएर लग्यो। कसो कसो गरेर उसले आफ्नो कलम चाहि जोगाउन सक्यो। अब ऊसँग दुईटा उपाय छ- केही कागजहरू किनेर फेरि पहिलाकोभन्दा अझ राम्रो उपन्यास लेख्ने वा सधैको लागि लेख्नै छोडिदिने!'

यही कथाका मुख्य पात्र जस्तै भएको छ अहिले हामी सबै नेपालीहरूको जीवन। हामी सबैले ती पात्रले जस्तै नयाँ कागजमा फेरि आफ्ना कथा लेख्नुपर्ने छ- र त्यसलाई पहिलेको भन्दा राम्रो बनाउनु पर्नेछ। हामीले यो बिपत्तिलाई अवसरमा बदल्नुपर्ने छ। र अँध्यारा बाँदलको पनि किनारमा चाहि चम्किलो घेरा हुन्छ भने जसरी यो प्रलयले पनि हामीलाई केहि न केहि अवसरहरू दिएर गएको छ।

भूकम्पले धेरैवटा घरहरू भत्कायो। घर सँगै सिढि र शौचालयहरू भत्कायो। स्कुलहरू भत्किए। सिनेमा हल, व्यापारिक मल हरू नराम्रो गरी चर्किए। यिनीहरू भत्किनु आफैमा एउटा ठूलो दूर्भाग्य भए पनि अब हामीसँग यीनलाई फेरि बनाउने अवसर आएको छ। र हामीले अब बनाउँदा यी सबैलाई पहिलेको भन्दा राम्रो, दह्रो र सबैभन्दा ठूलो कुरा सबैको लागी पहुँचयुक्त बनाउनुपर्ने अवसर आएको छ।

अबको नवनिर्माणमा यदि सबैले मनलगाएर र सबैको ख्याल राखेर काम गर्ने हो भने- अबका स्कुलमा म जस्तै व्हिलचियरमा चढेर हिड्ने विद्यार्थीहरूले सजिलै पढ्न पाउनेछन्, शौचालय जानै पाईदैन भनेर अपाङ्ता भएका व्यक्तिहरूले पानी नखाई बस्नुपर्ने छैन, अब बन्ने सपिङ मलहरूमा म ढुक्कसँग किनमेल गर्न सक्नेछु, साथीभाईसँग सिनेमा हेर्न सक्नेछु र सबै भन्दा महत्वपूर्ण कुरा, अब हुने विकासमा अपाङ्गता भएका र नभएका सबै व्यक्तिहरू समेटिनेछन्। अनि यो हामी सबैको लागि अवसर हैन त?

तर, दुःखको कुरा, नेपाल सरकारले घरका नमूना भनेर बाहिर ल्याएका नक्साहरूमा फेरि पनि सिढी नै छन्। ईन्जिनियरिङ कलेजका विद्यार्थीहरूले बनाएका अस्थायी टहरा र शौचालयहरूका नमूना म जस्ता व्यक्तिहरूको लागि केहि कुरै छैन। राहत बाँड्ने ठाउँमा आउन नसकेर अपाङ्गता भएका व्यक्ति घरमा भोकै परेका छन् र उसलाई घरमै राहत पुर्‍याउन कोहि गएको छैन।

तर हामीले आशा मारेको छैनौं। विजय कुमारले भन्नुभएजस्तै-हामी थाकेका छौँ, हारेका छैनौँ। तपाईहरू सबैजना मेरो र मजस्ता पाँच लाख अपाङ्गता भएका व्यक्तिहरूको दूत बनिदिनु भयो भने, नवनिर्माण हाम्रो लागि पनि हुनेछ। सबैले आफ्नो ठाउँबाट, आफूले गरेको काममा, आफूले बनाउँने स्कुलमा, शौचालयमा र अन्य सामूदायिक भवनहरूमा अपाङ्गताभएका म जस्ता व्यक्तिहरूलाई सजिलो हुने केहि प्रावधान राखिदिनू भयो भने मैले आज लेखेको यो अनुरोधले सार्थतकता पाउनेछ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email