Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Dec 20, 2015

सँसारलाई बदल्नुछ, सुरू आफैबाट गर्नुछ!



मधेशमा जब अान्दोलन सुरू भयो, अनि जब मैले चिनेका मधेशी युवापुस्ता पनि आन्दोलनमा होमिन थाले- मलाई लाग्यो साँच्चै, कहिँ न कहिँ केहि न केहि गल्ती त भएकै छ हामीबाट र आफ्नो कुरा गर्दा- म स्वयं बाट। मैले सबै कुरा बदल्न नसके पनि सोचेँ, आफुलाई चाहि केहि न केहि रुपमा बदल्छु।

त्यहि बेला तिर एकजना मित्रले लेख्नुभएको लेख पढ्ने मौका मिल्यो जसो सार थियो- जब सम्म तपाई आफ्नो बच्चालाई तरकारी बेच्न आउने मधेशीलाई, "भैया"का सट्टा "दाई" र "तिमी" को सट्टा "तपाईँ" भन्न सिकाउनु हुन्न, तब सम्म समानता आउँदैन। मलाई पनि यो कुरा एकदम सहि लाग्यो। अरुको के कुरा गर्नु मैले आफुले कहिले तरकारी बेच्ने मान्छेलाई दाई भन्या थिए कि थिएन कन्फ्युज भएँ। जति सम्झिदा पनि अहँ- दाई, तपाई भनेर बोलेको सम्झना नै भएन। सोचेँ, यसरी त भएन। अब म आफ्नो शैली बदल्छु।

म बिहान-बिहान आफै व्हिलचियर चलाएर यता उता हिड्ने गर्छु। यो मेरो लागी एक्सरसाईज हो अनि घर भन्दा अलि परको चोकमा गएर चिया पिउने बाहाना पनि हो। यसरी एकबिहान मैले आफ्नो हिडाई पुरा गरेर चिया पसलमा आईपग्दा एकजना मधेशका तरकारी बेच्ने मानिस पनि चिया पिईरहेका थिए। मैले उनीसँग कुरा गरे। "दाई" र "तपाईँ" भनेर ती मान्छेसँग कुरा गर्दा म आफैलाई कस्तो अचम्म लाग्यो। यति दुई शब्दले नै ति मान्छेलाई कस्तो नजिकको जस्तो बनाउने रहेछ। घरकता, यता कता बस्ने, कति पैसा कमाईन्छ आदि जस्ता कुराकानी भए। एकछिनमा ती दाई चिया पिईसकेर आफ्नो काममा लागे।

त्यसपछाडीका दिनहरूमा ती दाईसँग कहिले भेट हुन्थ्यो, कहिले हुदैनथ्यो। तर भेट भा'को बेला म उनीसँग कुरा गर्थे। अबभने मैले ध्यान दिएर, "दाई" र "तपाईँ" भनिरहन प्रयास गर्नुपर्दैनथ्यो। मेरो बोली नै आफै त्यसतो भैसकेको थियो, किनभने उनी मेरो लागी अलि आफ्नो जस्तो भैसकेका थिए।

अलि पछि को एकदिन म सदाझै व्हिचलियर कुदाएर आएँ र त्यो चियापसलमा पुगेर त्यहाँको दिदिलाई चिया माँगे।
त्यति बेला पछाडीबाट आवाज आयो-"चिया त मगाईहाल्नुभयो। पैसा कसरी तिर्नुहुन्छ। पैसा त अगि बाटोमा खसाईसक्नुभयो।"
पछाडी फर्केर हेर्छु त तिनै मधेशी दाई पो हाँस्दै, आफ्नो साईकल डोर्याउँदै आउँदै रहेछन्।

उनले मेरो अगाडी साईकल स्ट्यान्ड लगाए र २० रुपैयाको नोट मलाई दिदै भने-"पर बाटोमा तपाईले यो पैसा झर्यो, म पछि पछि थिए। मैले पैसा टिपे, तपाई दौडिएर अगाडी पुगिहाल्नुभयो, मैले सोचे- चिया पसलमा भेट भैहाल्छ, त्यहि दिन्छु।"

मैले मेरो ट्रयाकको गोजी छामे- बिहान घरबाट हिड्ने बेला चिया खान भनेर राखेको २० रुपैया त रहेनछ। ए कुनबेला झरेछ। मैले उनको हातबाट पैसा लिदै भने-"धन्यवाद दाई, मैले त पैसा झरेको थहानै पाईन।"

उनले हाँस्दै भने-"धेरै भएपछि त्यसतै हो बाबु, कति झर्छ, टिप्न भन्दा अगाडी बढ्नमा फाईदा हुन्छ।"

उनको कुरा सुनेर म पनि हाँसे र भने-"त्यसतो हैन यार दाई। ल बस्नुस, चिया खाउँ।"

उनी पनि एउटा टुल तानेर र बसे। मैले सोधे-"अनि कतिको बेचिसक्नुभयो त?" यसरी म त उनी फेरी बातचितमा लाग्यौँ।

त्यो दिन चिया पिईसकेर घर फर्कदा मलाई एउटा कुराले सोच्न बाध्य बनायो। "के मैले उनलाई दाई र तपाई भनेकाले मात्र उनले मेरो पैसा फिर्ता गरेका हुन त? नत्र के उनले त्यो पैसा लान्थे त?" मेरो मनले भन्यो- "अँह लादैनथे। उनले त मलाई त्यो पैसा ल्याएर नै दिने नै थिए बरू मै पो उनीसँग रिसाउँथे होला- भेटे पछि अघिदिनु पर्दैनथियो त "भैया" भनेर? र उनी निराश भएर चुपचाप लाग्थे होला"

तर अहिले न त म रिसाँए न त उनी निराश भए। किनभने, अहिले त मात्र दुई शब्दले- मेरा आफ्ना भैसकेका थिए।
हामी परिवर्तनको कुरा धेरै गर्छौँ। समाज र देश बदल्ने कुरा त झन् कति कति! तर सबैभन्दा महत्वपुर्ण कुरा भनेको त हामीलाई बदल्न सक्नुरहेछ। विवेकानन्दले भनेजस्तै- सँसारलाई बदल्नुछ, सुरू आफैबाट गर्नुछ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email