Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Apr 17, 2015

बाजेको सेकुवाको अदब र माधव!!



Madhav Subedi inaugurating New Bajeko Sekuwa Outlet at Sukedhara

Madhav Subedi inaugurating New Bajeko Sekuwa Outlet at Sukedhara

चार वर्ष अगाडी माधव सुबेदीको आफ्नै होटल थियो। सानो थियो तर पनि आफ्नै व्यवसाय थियो।
तीन वर्ष अगाडी घरको छतबाट लडेर उनको मेरूदण्ड भाँच्चियो र उनी कहिले हिड्न नसक्ने गरी अपाङ्ग भए। हिडडुलका लागी व्हिलचियर प्रयोग गर्नुपर्ने स्थितिमा पुगे।
त्यो घटना पछि उनले होटल व्यवसाय गर्न सकेनन्। उनको कमाई गुम्यो र जिवन कष्टकर बन्यो। त्यसपछि श्रीमति र छोरी लिएर उनी काठमाडौँ आए- अपाङ्गता भएका व्यक्तिहरूलाई देशको राजधानीमा पो अलि सजिलो हुन्छ कि भनेर। यहाँ पनि उनलाई सजिलो भएन, अनेक सँस्था चाहारे, अनेक मान्छे गुहारे। चारतिर डुल्दा-डुल्दा एकजना मनकारी मान्छे भेटे, जसले उनलाई निशुल्क बासस्थानको व्यवस्था मिलाईदिए। यति भएपछि कमसेकम उनको एउटा समस्या टर्यो। अब एउटा काम खोज्ने र छोरीलाई पढाउने खर्च जुटाउने उनको मुख्य ध्येय बन्यो।
यसका लागी माधवले कम्प्युटर सिके। र एउटा सामाजिक उद्धम कम्पनीमा कमयुनिकेसन हेर्ने काम पाए। थोरै पैसा पनि कमाउन थाले। जिवन केहि सजिलो भयो। तर पनि छोरीलाई पढाउनका लागी खाजा खर्च; किताब-ड्रेस सबैको खर्च जोड्न चाहि उनलाई धौ धौ नै पर्ने गर्छ। जिवन यसरी नै चलिरहेको बेला- कहिलेकाँहि माधव सुबेदी बर्दिया मा रहेको आफ्नो होटललाई सम्झन्छन् र दुखी हुन्छन्।
उनै माधवले आज बाजेको सेकुवाको ९ औँ शाखाको सुकेधारामा उद्धाटन गरे। मन्त्री, बरिष्ठ कर्मचारी र नामचलेका व्यक्तिहरूबाट आफ्ना नया उत्पादनहरूको उद्घाटन गर्ने चलन रहेको मा केहि फरक गर्दै बाजेको सेकुवाले माधवलाई आफ्नो मुख्य अतिथि बनायो। त्यति मात्र हैन माधवकी छोरीको पढाईका खर्चको लागी सहयोग पुगोस् भन्नका लागी दश हजार पनि प्रदान गर्यो र बर्षेनी यो सहयोग कायन राख्ने बाचा गर्यो।
बाजेको सेकुवाले आफ्ना शाखाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सेवा दिने बताएको छ। यसका लागी अपाङ्ग मैत्री संरचनाहरूको निर्माण पनि क्रमिक रुपमा गर्दैछ। बत्तिसपुतलीमा त भर्खरै व्हिलचियर जान सजिलो होस् भन्नका लागी नया र्‍याम्प समेत बनाएको छ। र सबैभन्दा महत्बपुर्ण कुरा आजदेखी बाजेको सेकुवाका सम्पुर्ण शाखाहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागी १५% छुट दिने निर्णय पनि गरेको छ।
कार्यक्रम सकेर खाजा खाएर घर जानेबेमा मैले माधवलाई सोधे- “कस्तो लाग्यो त माधवजी आज? उनले अनुहार उज्यालो पार्दै भने; छोरीलाई ड्रेस किन्ने बेला भा’को थियो सर, मलाई त कत्रो ठूलो सहयोग भयो।“ मलाई कस्तो खुशी लाग्यो र फेरी सोधे- अनि होटल चाहीँ कस्तो लाग्यो त? उनले हाँस्दै भने- “हाम्रो हेरी त कहाँ हो कहाँ सर!”
एकजना व्यापारका विज्ञले भनेका छन्- “बाँच्नका लागी खानु पर्छ भने जस्तै व्यापार चलाउनका लागी पनि पैसा कमाउनै पर्छ। तर जसरी हामी खानकै लागी मात्रै बाँच्दैनौ त्यसरी नै पैसा कमाउनै लागी मात्रै व्यापार गरिदैन।“ बाजेको सेकुवाले पनि पैसा कमाउनै लागी मात्रै व्यापार गरेन। त्यो सँगै माधवलाई खुशी हुने मौका दियो। यसका लागी चेतन भन्डारी, सुशिल खड्का र बाजेको सेकुवा टिमका सबैलाई धन्यवाद!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email