Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Aug 13, 2015

६ महिनामा ६ र्‍याम्प



6 Ramps in 6 Places of Kathmandu

6 Ramps in 6 Places of Kathmandu

म बोस्टनमा हुँदा एउटा अभियानको बारेमा सुने- 6 Days, 6 Ramps (६ दिनमा ६ वटा व्हिलचियर र्‍याम्पहरू बनाउने)। त्यहाँका भोल्युन्टरहरूले बिभिन्न कारणले व्हिलचियर प्रयोग गर्न थालेका तर आफ्नो घरमा नै व्हिलचियर जाने वातावरण नभएका व्यक्तिहरू छानेर- कुनै एक हप्ताका ६ दिनमा ६ जनाको घरमा ६ वटा र्‍याम्प बनाईदिने रहेछन्। मलाई त्यो अभियान एकदमै गज्जव लाग्यो।
मनमनै सोचे- हाम्रो देशमा पनि यस्तो गर्न पाए। तर हाम्रो देश र अमेरिका फरक छ। यहाँ मान्छेको घरको त के कुरा सार्वजनिक स्थल तथा भवनहरूमा नै व्हिलचियर जान सक्दैनन्। फेरी यसरी ६ दिनमा ६ वटा र्‍याम्प बनाईहाल्न पनि हामीसँग भएका स्रोत साधनले भयाउने थिएन। त्यसकारण मैले मेरो मनमनमा नै एउटा नया अभियना बनाएँ- 6 Months 6 Ramps अर्थात छ महिनामा काठमाडौँका सार्वजनिक स्थानहरूमा ६ वटा व्हिलचियर र्‍याम्पहरू बनाउने। यो अभियानका बारेमा धेरै जनालाई सुनाए- सबै खुशी भए र हौसला पनि दिए। र नेपाल आउने बित्तिकै सो अभियान थाल्ने उदेश्य लिएर म देश फर्किए।
तर सबै कुरा सोचे जति सजिलो हुन्न रहेछ। र्‍याम्प बनाउन हौसलाले मात्र नपुग्ने रहेछ- पैसा चाहिने रहेछ। मैले धेरै ठाउँमा धेरै जना मान्छेहरूलाई आफ्नो योजनाको बारेमा सुनाएँ, सबैले राम्रो हो, गरौ भन्नुहुन्थ्यो तर त्यो त्यति मै सिमित हुन्थ्यो। यसरी म फर्किएर आएको १ बर्ष वित्दा समेत र्‍याम्प बन्न सकेनन्।
त्यसपछि हामी केहि मन मिल्ने साथीहरू मिलेर बरू सँगठित रुपमा नै र्‍याम्प बनाउने र अरु पनि यस्ता राम्रो काम गर्नका लागी एउटा सँस्था खोल्ने बिचार गर्यौँ। अपाङ्गताका क्षेत्रमा काम गर्ने धेरैवटा सँस्थाहरू थिए- हामीले केहि न केहि फरक त गर्ने पर्ने थियो। त्यसकारण अपाङ्गता भएका र नभएका व्यक्तिहरूलाई सँगै ल्याउन र एक अर्काका साथी बनाउने मुल उद्देश्य बोकेको सँस्था दर्ता गर्यौँ- सँगै हामी
सँस्था खोले पछि मेरो मनमा ६ महिनामा ६ वटा र्‍याम्प बनाउने चाहना अझ कडारूपमा जाग्न थाल्यो। पहिला पो म एक्लै थिए- अब त सँस्था थियो, सबै साथीहरू हुनुहुन्थ्यो। मलाई झन् साहस आयो। त्यहि बेला अष्ट्रेलियन दुतावासले साना सँस्थाहरूलाई सहयोग गर्नका लागी ग्रान्ट खोल्यो। हामीले सँगै हामीका तर्फबाट 6 Months 6 Ramps को लागी आवदेन हाल्यौँ र विजयी पनि भयौँ।
र यसरी हामीले हाम्रो मेहनत र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा अन्नत: काठमाडौँका ४ वटा स्थानमा ६ वटा व्हिलचियर र्‍याम्पहरू बनायौँ।
गौशलाको प्रहरी चोकी, गोल्फुटारको सार्वजनिक खेल मैदान, पद्दमकन्या कलेजको क्यान्टिन भवन र प्रशासनिक भवनमा र बालाजु पार्कको तल्लो र माथिल्लो भागमा बनाईएका यी र्‍याम्पहरूले आउने दिनमा म जस्तै व्हिलचियरमा हिड्ने धेरै जना मान्छेहरूलाई सहजरूपमा आवागमन गर्न अवसर दिनेछ।
यी र्‍याम्पहरूको निर्माणमा सहयोग गर्नुहुने सबैलाई धेरै धन्यवाद। सँगैहामीको हाम्रो सबै टिम नै यो सफलतकाको हकदार छौँ। हामीलाई बधाई छ।
अन्तमा मलाई केहि मान्छेहरूले सोध्नुभएको प्रश्न: यी र्‍याम्पहरूले काठमाडौँमा व्हिलचियर प्रयोग गर्ने व्यक्तिका सबै समस्या समाधान गर्छन त? अँह गर्दैनन्। यी त केवल प्रतिक हुन्। परिवर्तनका प्रतिक। हामीले ६ वटा बनायौँ, त्यो देखेर आगामी दिन तपाईँले यस्ता ६ सय वटा बनाउनु हुनेछ भन्ने विश्वास छ।
तलको तस्बिरमा गर्वसाथ ती व्हिलचियर र्‍यामपहरू प्रस्तुत गरेको छु।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email